काठमाण्डौं, २५ कार्तिक । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो । छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।
पहिले सहर गाउँका मुख्य मुख्य पोखरी, तलाउ, नदीमा मात्र मनाइने छठ पूजा यसपाली टोलटोल गाउँगाउँका हरेक पोखरी तलाउ नदीमा पनि मनाइएको पाइएको छ । मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व अन्य क्षेत्रका बासिन्दाले पनि मनाउने क्रम बढ्दो छ ।
दिनानुदिन छठमाई प्रतिको आस्था बढदै गएकाले अहिले अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।
प्रतिक्रिया