काठमाडौं २६ कात्तिक । सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ । आज (शुक्रबार) फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड–१९ खोप अभियानबारे अन्तरक्रिया कार्यक्रममा कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।
यो खोपको पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालमा उपलब्ध हुने जनाइएको छ । खोप बाँकी भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरूलाई प्राथमिकतामा राखी र १२–१७ उमेर समूहकालाई लगाइनेछ । खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पुस २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जानकारी दिएको छ ।
यो खोप १२ वर्षभन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने भएकाले त्यही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले बताए । उनले यो खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई पहिलो प्राथमिकतामा राखेर दिइने पनि बताए । प्रशासक दाहालले १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोगका बिरामीहरूलाई यो खोप दिइने बताए ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक दाहालले भने, ‘फाइजर–बायोएनटेक खोप १२ वर्षदेखि माथिको जनसंख्यालाई दिन मिल्ने भएकाले १२–१७ वर्षका व्यक्तिहरूलाई खोप दिइन्छ, यसको पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म तोकिएका दीर्घरोगीहरूका लागि र खोप बाँकी भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरूलाई प्राथमिकतामा राखी १२–१७ उमेर समूहका व्यक्तिहरूलाई लगाइनेछ । खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पुस २ गतेसम्म दिइनेछ ।
प्रतिक्रिया