)काठमाडौँ २७ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अधिकारलाई अवसरमा सुनिश्चित गर्न एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिए पनि शीर्ष नेताकै कुत्सित मनसायका कारण विभाजन भएको आरोप लगाएका छन्। एमालेको दशौँ महाधिवेशनको प्रतिनिधि छनोटबारे ओलीले पार्टी कब्जा गर्ने मनासायले एकीकरणलाई गलत दिशामा धकेलेको पनि बताएका छन्।
भिडियो सन्देशमा ओलीले पार्टी एकीकरण विरोधीहरुले पार्टी र आन्दोलनलाई समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाएका छन्। पार्टीको संगठन निर्माण र परिचालन नभइ कुत्सित मनसाय पूरा गर्न संगठनात्मक अराजकतालाई तल्लो तहसम्म फैलाउने काम गरेको जिकिर पनि ओलीले गरेका छन्।
लोकतन्त्रलाई राजनीतिक अधिकारमा सीमित गर्ने औपचारिकतन्त्रबाट अधिकार र अवसर सुनिश्चिता गर्ने शक्ति निर्माणका लागि पार्टी एकीकरण गरिएको भए पनि अपेक्षा पूरा नभएको ओलीको भनाई छ।
ओलीले वक्तव्यमा भनेका छन्, ‘हाम्रो अपेक्षा विपरीत, इतिहासको दुःखद् अध्याय दोहरियो। दोस्रो राष्ट्रिय महाधिवेशनपछि नेतृत्वमा पुगेका दक्षिणपन्थी अवसरवादीहरुलेझैं, एकता प्रक्रियापछि पार्टीको शीर्ष तह, सचिवालयमा पुगेका अराजक दक्षिणपन्थी अवसरवादीहरूद्वारा एकीकरणलाई पूर्णता दिने हैन, पार्टी कब्जा गर्ने र पार्टीलाई गलत दिशामा धकेल्ने दुष्प्रयास आरम्भ गरियो।’
जनताले अस्वीकृत गरेको शक्तिलाई सत्ता सुम्पने प्रतिगामी काम दलबाटै भएको ओलीको भनाई छ। ‘एउटै निर्वाचन घोषणापत्रको आधारमा प्राप्त भएको जनताको अभूतपूर्व जनादेशलाई अर्को जनादेशको प्रतीक्षा समेत नगरी असंवैधानिक एवं अलोकतान्त्रिक परमादेशका माध्यमबाट जनताले अस्वीकृत गरेको शक्तिलाई नै सत्ता सुम्पन्ने प्रतिगामी काम भयो’, सन्देशमा ओलीले भनेका छन्।
एमाले सकियो र सिध्याइयो भन्नेहरुलाई जवाफ दिँदै पार्टी थप सुदृढ र गतिशील भएर अघि बढिरहेको ओलीको जिकिर छ। ऐतिहासिक रुपमा विधान सम्मेलन समापन भएको, वडा तहमा उदाहरणीय ढंगबाट अधिवेशन सम्पन्न भएको समेत ओलीले बताएका छन्।
आसन्न महाधिवेशनले पार्टीलाई थप एकीकृत गरी राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम शक्तिका रुपमा स्थापित गर्ने पनि ओलीको दाबी छ।








प्रतिक्रिया