बुटवल, ०२ मंसिर । बुटवल लायन्स आँखा अस्पतालले २४ हजार बढीको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । अस्पतालले स्थापनाकालदेखि २५ वर्षको अवधिमा २४ हजार ३ सय बिरामीको मोतियाविन्दु शल्यक्रिया गरेको हो । विन्दुका नेत्र रोगीको एसआईसिएस तथा फेको प्रविधिबाट शल्यक्रिया गरिएको छ । २५ औं वर्ष पूरा गरी रजत जयन्तीको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका अध्यक्ष रामेश्वर प्रसाद श्रेष्ठले स्थापनाकालदेखि हालसम्म करिब ३ सय ३० विद्यालयहरुका १ लाख ५१ हजार विद्यार्थीहरुको आँखा जाचका साथै दृष्टिदोष भएका २ हजार ७ सय जना विद्यार्थीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको जानकारी गराए ।
अस्पतालले विभिन्न कार्यक्रम गरी रजत महोत्सव २०७८ मनाउने भएको छ । पत्रकार सम्मेलनबाट शुरु भएको कार्यक्रम शुक्रबार वृहत सचेतनामुलक प्रभातफेरि, शनिबार निःशुल्क मोतिबिन्दुको शल्यक्रिया, आईतबार रक्तदान तथा सोमबार मुल समारोहमा सम्मान तथा शुभकामना आदानप्रसाद कार्यक्रम गरि मनाईने अध्यक्ष श्रेष्ठले बताए ।
अस्पतालमा परिसरमा १ करोड १५ लाख रुपैया विभिन्न समाजसेवी, संघसंस्थाहरुबाट सहयोग संकलन गरि आँखा अस्पतालको दुई तले भवन निर्माण भएको उनले बताए । यसैगरि ४ सय स्थानमा आँखा शिविर संचालन गरि ८९ हजार विरामीहरुको आँखा जाँच गरि मोतिबिन्दु देखापरेका १३ हजार ६ सय जनालाई अस्पतालबाट निशुल्क शल्यक्रिया गरिएको उनले बताए । अस्पतालमा विरामीको टिकट शुल्कबाट २ जना नेत्र रोग विशेषज्ञ तथा ४२ जना कर्मचारीहरु ब्यवस्थापन गरिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा नेपाल सरकार स्वस्थ्य निर्देशनालयबाट अस्पताल स्तरवृद्घिका लागि अनुदान स्वरुप ४० लाख रुपैया तथा अस्पतालबाट थप ९ लाख ७० हजार ८ सय ७० रुपैयाबाट अत्यावश्यक चिकित्सकिय औजारहरु खरिद गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा बिरामीको चाप बढेको हुँदा थप सेवा दिन समस्या भएकाले जग्गाको खोजी गरि थप अत्याधुनिक भवन निर्माण गरि सेवा बिस्तार गर्ने तयारी गरिएको छ ।
अस्पतालको ब्यवस्थापन समितिका सदस्य प्रकाश रायमाझीले अन्तराष्ट्रिय संघसंस्थाहरुले आँखा उपचारमा जग बसाल्ने काम भएको भन्दै सरकारबाट आवश्यक सहयोग जरुरी रहेको बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सरकारलाई अस्पतालबाट निशुल्क सेवा दिदै आएको विषय बुझाउन जरुरी रहेको बताए । पत्रकारलाई निशुल्क उपचारको घोषणा गर्न सुझाव दिदै आवश्यक सहयोग गर्ने प्रतिवद्घता जनाए ।
कार्यक्रममा क्लबका पुर्व अध्यक्ष अर्जुनमान सैजु, महेशमान सिह, कुश प्रसाद मल्ली, जिवनप्रसाद वझा, पुर्व अध्यक्ष निर्मल लाकौल, मेडिकल डाक्टर डा उपेन्द्रदेव भारी, ब्यवस्थापन समिति सदस्य नरेश कुमार श्रेष्ठ, पुर्व अध्यक्ष तथा रजत महोत्सव समितिका सचिव दिनेश प्रसाद श्रेष्ठ, चित्र कुमार कर्ण, लियो क्लब अफ बुटवलका अध्यक्ष रमेश नेपाल, भगवती श्रेष्ठले आँखा उपचार निक्कै सम्बेदनशिल विषय भएको भन्दै यसमा सामाजिक संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बताए ।







प्रतिक्रिया