काठमाण्डौ, ०८ मंसिर । नेपाल वायु सेवा निगमले रुकुम जाने जहाजलाई निर्णय गरेरै नेपालगञ्ज लगिएको जनाएको छ । गएको आइतवार रुकुमको सल्लेका लागि उडेको जहाजलाई पाइलटले ड्युटी समय सकिएको भनेर नेपालगञ्जमा अवतरण गराएपछि निगमको आलोचना भएको थियो । तर निगमले भने व्यवस्थापनको निर्णयअनुसार नै पाइलटले जहाजलाई नेपालगञ्ज अवतरण गराएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
गएको आइतवार बिहान सवा ६ बजे काठमाण्डौबाट उड्नुपर्ने जहाज मौसमका कारण उड्न नसकी रद्द गरिएकोमा मौसममा सुधार आएपछि फेरि यात्रुलाई खबर गरेर दिउँसो २ बजेर ५८ मिनेटमा जहाज उडेको निगमले जनाएको छ ।
बिहान सवा ५ बजेदेखि ड्युटीमा रहेका पाइलटले जहाजलाई सल्ले पुर्याउँदा आफ्नो ड्युटी गर्ने समय सकिने भएकाले नेपालगञ्ज लैजाने निर्णय काठमाण्डौमै भएको निगमले जनाएको छ । हवाई उडानसम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनरनेपाल नागरिक उड्डयन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरेको कारण त्यस दिन रुकुम उडान नगर्ने निर्णय भएको निगमको भनाइ छ ।
रुकुम र नेपालगञ्ज जाने यात्रुहरूलाई काठमाण्डौमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्याउर रुकुम जाने यात्रुहरूलाई निगमको नियमअनुसार होटलमा राखी भोलिपल्ट बिहानै रुकुम पुर्याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि रहेको निगमको दाबी छ ।
प्रतिक्रिया