काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा धमाधम अधिवेशनहरु भइरहेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन भइरहेको छ भने दुई वटा भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशन हुने महाधिवेशन कार्यतालिकामा उल्लेख छ ।
आज (बुधबार) सम्म कांग्रेसको २६ जिल्लामा अधिवेशन भइसकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १३ जिल्लामा दशैंअघि नै अधिवेशन भएका थिए । अरु जिल्लामा भने मंसिर ६ गतेदेखि जिल्ला अधिवेशन शुरु भएको हो ।अहिलेसम्म सार्वजनिक भएको जिल्ला अधिवेशनको परिणाम अनुसार सभापतिमा संस्थापन समूह र इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ । २६ जिल्लामध्ये संस्थापन समूहले १४ जिल्लामा नेतृत्व हात पारेको छ भने १२ जिल्लामा संस्थापन इतर समूह विजयी भएको छ ।
संस्थापन समूहबाट ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ जिल्ला सभापति चुनिएका छन् ।
त्यस्तै सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादु शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु र लमजुङमा डा. टकबहादुर गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । जाजरकोटका सिंह र मनाङबाट गुरुङ सर्वसम्मत सभापति चयन भएका हुन् ।
त्यस्तै संस्थापनइतर समूहबाट संखुवासभाको जिल्ला सभापतिमा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल चुनिएका छन् । अर्घाखाचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडी चतुरबहादुर चन्द, भोजपुर विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
प्रतिक्रिया