प्रदेश

सर्वसम्मत नेतृत्व चयन गर्ने जिम्मा ओलीलाई, सहमति नभएमा चुनाव



काठमाण्डौ, १२ मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि आजदेखि प्रक्रिया सुरु हुँदैछ । हिजो बेलुकी अबेरसम्म बसेको बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिएको छ ।

नेता विष्णु पौडेलको प्रस्तावमा सबैजसो प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरे पनि अध्यक्षका प्रत्यासी भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालले भने विरोध जनाउनुभएको छ । दुई नेताको विरोध रहे पनि हिजोको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार ओलीलाई दिएको छ ।

यसअनुसार आज ओलीले नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्नुहुनेछ । ओलीको प्रस्ताव सर्वसम्मतिबाट अनुमोदन हुने नेता विष्णु रिजालले दाबी गर्नुभयो । तर ओलीको प्रस्तावमा कसैले असन्तुष्टि जनाए त्यो पदमा चुनाव हुने उहाँको भनाइ छ । सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्ने आमकार्यकर्ताको भावनाअनुसार हिजोको बन्द सत्रले यसको अधिकार पार्टी अध्यक्ष ओलीलाई दिएको उहाँले बताउनुभयो ।

नेता रिजालकाअनुसार भीम रावल र घनश्याम भुसालसँग सहमतिको प्रयास भइरहेको छ । अन्तिमसम्ममा उहाँहरु पनि सहमतिमा आउने र सहमति हुन नसकेमा मात्रै चुनाव हुने उहाँले बताउनुभयो । विधान संशोधन पारित भएसँगै एमालेको पदाधिकारी अब १९ सदस्यीय पुगेको छ ।

१९ जना पदाधिकारीमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ जना उपाध्यक्ष रहनेछन् । साथै १ जना महासचिव र ३ जना उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् । केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बन्नेछ । अस्ति शुक्रवार चितवनमा सुरु भएको एमालेको १० औँ महाधिवेशन आज सक्ने कार्यतालिका छ ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६