बुटवल १५ मंसिर । लुम्बिनी प्रादेशिक अस्पतालमा करिब १० करोड रुपैयाँ लागतमा क्यान्सर स्क्रिनिङ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना हुने भएको छ । रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत रोटरी क्लब अफ बुटवलले मेगा प्रोजेक्टका रुपमा क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना गर्न लागेको हो ।
विशेष गरी महिलाको पाठेघर र स्तनको क्यान्सर रोग पत्ता लगाउने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो पटक क्यान्सर स्क्रिनिङ सेन्टर स्थापनाका लागि अस्पतालसंग सम्झौता भई प्रक्रिया अघि बढेको क्लबले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ
क्लबले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै अन्य तीनवटा योजना पनि अगाडि बढाएको छ । क्लबले रक्तसञ्चार सेवा केन्द्र बुटवलसँगको सहकार्यमा रोटरी ब्लड कलेक्सन मोवाइल भ्यान पनि सञ्चालन प्रक्रिया पनि अघि बढाएको क्लबका सचिव खिमनारायण पराजुलीले बताउनुभएको छ ।
करिव ६५ लाख रुपैयाँको लागतमा भारतबाट भ्यान खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको पराजुलीले बताउनुभयो । मोवाइल भ्यान सञ्चालनमा आएपछि रक्तदान गर्न चाहने सर्वसाधारणले आफू बसेकै स्थानमा रक्तदान गर्न सक्ने र त्यही भ्यानभित्रै रगत सुरक्षित रुपमा संकलन गरेर निश्चित तापक्रममा राख्न सकिने व्यवस्था समेत भएको उनले बताउनुभएको छ । क्लबले बुटवल उपमहानगरपालिकाभित्र ट्राफिक लाइट जडानको प्रक्रिया पनि शुरु गर्दैछ ।
१५ मंसिर २०७८, बुधबार
प्रतिक्रिया