काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो।
कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाहेक सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए।
कांग्रेस क्रियाशील सदस्यको विवादका कारण सर्लाही र रसुवाको वडा अधिवेशन ढिला गरी सुरु भएको थियो। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ।
कांग्रेसको आगामी मङ्सिर १७ र १८ गते एकैसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन हुँदैछ। कांग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ।
प्रतिक्रिया