प्रदेश

जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्नुपर्छः प्रचण्ड



चितवन, १८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाले आज आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा उहाँले जल, जङ्गल र जमिनको सही ढङ्गले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । यस्तो विकासले यहाँको समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, नारायणी, राप्ती, रिउ, राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीयस्थल सबै यही ठाउँमा हुनु विकासका लागि राम्रो कुरा हो ।ु आफूले यसलाई चितवनको विकासको मोडेलको रुपमा लिएको उहाँको भनाइ थियो ।

सिबीच मोडलको रुपमा नारायणी नदीको विकास गर्नुले यहाँको पर्यटन, सौन्दर्य र जलको सदुपयोगको दिशामा पानी एउटा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

नेपालका धेरै ठाउँमा जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उहाँले सिङ्गापुरको सन्तोषा आइल्यान्डजस्तै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । यसले आन्तरिक मात्रै नभइ वाह्य पर्यटकसमेत आकर्षित गर्ने उहाँको भनाइ थियो ।

विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उहाँले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका छन् । चितवन र भरतपुरमा हुने आर्थिक विकासका गतिविधि राष्ट्रियरुपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् भन्ने हाम्रो चाहना छ ।

चितवनको विकासका लागि ठूला–ठूला परियोजना सोचिएको भन्दै उहाँले भन्नुभयो, शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउनेसम्मका सपना छन् । यो विकासको पनि केन्द्र बिन्दु होस् भन्नका लागि सबैले सपना देखेको उहाँको भनाइ छ ।

देशको राजनीतिको केन्द्र चितवन बनेको भन्दै उहाँले देशभरिका जनताले अध्ययन गर्ने गरी यहाँको विकास गरिने बताउनुभयो ।

महानगर प्रमुख रेनु दाहालले यो ठाउँमा पर्यटकीय पूर्वाधारका लागि विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको बताउनुभयो । जसका लागि २९ करोड रुपैयाँ आवश्यक हुने उहाँले बताउनुभयो । अहिले पर्यटन बोर्डले आह्वान गरेको बोलपत्रमा छ करोड ६७ लाख रुपैयाँमा ठेकेदार कम्पनीले स्वीकार गरेको छ ।

दाहालका अनुसार गएको वर्ष उद्योग वाणिज्य सङ्घसँग मिलेर ९७ लाख रुपैयाँको पदमार्ग निर्माण गरी सकिएको छ । अहिले दुई दशमलव पाँच किलोमिटर लामो पदमार्ग, तीन वटा पार्किङस्थल र जग्गा व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । नारायणीको किनारलाई नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महानगर लागि परेको उहाँले बताउनुभयो ।

पुलबाट पूर्वतर्फको नारायणी किनारको करिब ३० बिघा क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने र पश्चिमतर्फको नगरवनलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने दाहालले जानकारी दिनुभयो । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बहुवर्षीय आयोजनाको रुपमा यसको विकास गरिने बताउनुभयो ।

रासस

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६