काठमाडौं १९ मंसिर – नेकपा माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन सकिएको छ ।
चितवनमा शनिवार र आइतबार भएको महाधिवेशनले ८ मनोनितसहित १९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने थियो। तर, १८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ भने अध्यक्षसहितका पदाधिकारीहरुको समेत टुङ्गो लागेको छैन।
अध्यक्षमा विष्णु सापकोटा (जुगल), गोविन्द रोका (सचिन), बलराम थापा, लक्ष्मी पुन लगायतको दाबी थियो ।१८४ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै प्रेस सेन्टरका केन्द्रीय कार्यालय सदस्य बलराम थापाले १८४ जनाको पहिलो बैठकले नै अध्यक्षसहितका पदाधिकारी चयन गर्ने बताए । केन्द्रीय सदस्यमा खाली रहेका ठाउँमा पनि पछि नै सदस्यहरु थपिने उनले बताए ।
शनिवार सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेतृत्व टुङ्ग्याइदिएको र बाँकी पदाधिकारी मिलाउन आग्रह गरेका थिए। तर, प्रचण्डले भनेका व्यक्तिलाई सर्वसम्मत अध्यक्ष मान्न अन्य दाबेदारहरु तयार नहुँदा अधिवेशन नेतृत्व चयन नै नगरी सकिएको हो ।
प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेसी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एकजना रहनेछन् ।








प्रतिक्रिया