काठमाडौं : सोमबार (२० मंसिर) मा प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट पत्रकारहरुलाई बोलाएर भने, ‘म अन्तिम पटक सभापति बन्छु, सहयोग गर्नुहोस् ।’ यो भन्दै गर्दा सभापति देउवा निकै उत्साही थिए ।
यही मङ्सिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा हुँदैछ । प्रदेश तहको नजितासँगै सभापति देउवा बलियो बनेपछि उत्साही भएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि काठमाडौं आउने क्रम सुरू भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा उम्मेदवारको टुङ्गो लागेको छैन । यता सभापति देउवा आफ्नो पक्षमा नतिजा पारन् सक्रिय भएका छन् ।
देउवा बलियो
कांग्रेसको सात प्रदेशमध्ये ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश नं २ को अधिवेशन भने आन्तरिक समस्याका कारण हुन सकेको छैन । प्रदेश अधिवेशनबाट प्रदेश नं १ मा उद्धव थापा, वाग्मती प्रदेशमा इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशमा शुक्रराज शर्मा, लुम्बिनी प्रदेशमा अमरसिंह पुनमगर, कर्णाली प्रदेशमा ललितसिंह शाही र सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर सभापति निर्वाचित भएका छन् ।
नवनिर्वाचित प्रदेश सभापतिमा प्रदेश १ का थापा, बागमतीका बानियाँ, कर्णालीका शाही र सुदूरपश्चिमका बलायर कांग्रेस सभापति देउवा पक्षका हुन्। त्यस्तै, गण्डकीका शर्मा र लुम्बिनीका पुन वरिष्ठ नेता पौडेल पक्षका हुन् ।
यता नतिजा सार्वजनिक भएका विभिन्न ६१ जिल्लाहरुमध्ये ३२ जिल्लामा संस्थापन पक्षीय सभापतिहरू विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट रहेका नेताहरु २७ जिल्लाको नेतृत्वमा पुगेका छन् भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका तीनजना सभापतिमा निर्वाचित भएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार कांग्रेसको महाधिवेशनमा चार हजार ७०० हाराहारीमा महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।
चार हजार ७ सय हालेका खुलेका प्रतिनिधिहरुको हिसाब गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहभन्दा देउवा करिब ७ सय मतले अघि रहेको तथ्याङ्गक छ ।
प्रदेश २ मा क्षेत्रीय तहको निर्वाचनमा संस्थापन समूहको पकड रहेको बताइन्छ । प्रदेश २ को अधिवेशन उद्घाटन भए पनि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । प्रदेश २ को नजितापछि अन्तिम चित्र देखिने कांग्रेस नेताहरुको दाबी छ । प्रदेश सभापतिका लागि श्रीकृष्ण यादव र रामसरोज यादवले उम्मेदवारी घोषणा गरेका छन् । उपसभापति विमलेन्द्र निधिको पक्षबाट श्रीकृष्ण र देउवा पक्षबाट रामसरोजले उम्मेदवारी घोषणा गरेका हुन् ।
संस्थापन समूहमा देउवा एक्ला दाबेदार छन् । त्यस हिसाबले पनि उनलाई सजिलो छ ।








प्रतिक्रिया