अर्थ-वाणिज्य

गृहमन्त्रीको जिम्मेवारी अन्य नेतालाई हस्तान्तरण गर्न आफू तयार रहेको : बालकृष्ण खाण



काठमाडौं २३ मंसिर । नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने बताएका छन् । पार्टीमा महामन्त्रीको जिम्मेवारी पाउने अवस्थामा गृहमन्त्रीको जिम्मेवारी अन्य नेतालाई हस्तान्तरण गर्न आफू तयार रहेको खाणले बताएका छन् ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नोतर्फको प्यानल निर्माणका लागि छलफल थालेसँगै खाणले महामन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।
बुधबार विहान देउवा निवास बूढानीलकण्ठमा देउवा पक्षले महाधिवेशनको चुनावी रणनीति र पदाधिकारीमा दाबी प्रस्तुतका लागि बैठक राखेको थियो । सो बैठकमा पनि खाणले २२ वर्षदेखि निरन्तर केन्द्रीय कार्यसमिति रहेको भन्दै अब महामन्त्री बन्न चाहेको बताएका थिए ।
खाण सरकारको सेकेन्ड म्यान (गृहमन्त्रीसहित दोस्रो वरियता) समेत रहेको हुनाले महामन्त्रीमा अर्को नेतालाई अवसर दिनुपर्ने देउवा समूहबाटै आवाज उठेको छ । सरकारभन्दा बाहिर भएका नेताहरु मध्येबाट महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने मापदण्ड तय गर्न सभापति देउवामाथि दबाब छ । तर, खाणले महामन्त्रीको उम्मेदवार बन्नका लागि आफू गृहमन्त्री छोड्न तयार रहेको रातोपाटीलाई बताए ।

देउवा पक्षबाट महामन्त्रीका सशक्त दाबेदार मानिएका गृहमन्त्री खाणले बुधबार साँझ रातोपाटीसँग कुराकानी गर्दै भने, ‘म महामन्त्रीको उम्मेदवार हुनका लागि गृहमन्त्री छोड्न तयार छु । प्रधानमन्त्रीज्यूले गृहमन्त्रीमा पार्टीका कुनै साथीहरुलाई जिम्मेवारी दिन सक्नुहुन्छ । म त्यसका लागि तयार छु ।’

आफ्नो पहिलो प्राथमिकता र रोजाइ पार्टीको महामन्त्री नै भएको खाणको भनाइ छ । ‘गृहमन्त्री र पार्टी महामन्त्रीमध्ये मेरो रोजाइ महामन्त्री हो । महामन्त्रीको उम्मेदवार पनि मै, गृहमन्त्री पनि मै भइराख्नुपर्छ भन्ने छैन’ खाणकाले भने ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६