सत्तारुढ दल (नेपाली काँग्रेस) ले विभिन्न वाणिज्य बैंकहरूमा कूल १२ करोड रुपैयाँ राखेको जानकारी दिएको छ । चौधौं महाधिवेशनमा सो पार्टीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख भएअनुसार विभिन्न वाणिज्य बैंकहरूमा काँग्रेसले एक वर्षे मुद्दती निक्षेपमा १० करोड रुपैयाँ तथा बचत/चल्ती खातामा दुई करोड रुपैयाँ जम्मा गरेको हो ।
आर्थिक वर्ष २०७२/७३ यता आफ्नो सम्पत्तिमा चार करोड ९२ लाख ८७ हजार ३३९ रुपैयाँ वृद्धि भएको पनि सो पार्टीले जानकारी दिएको छ । पार्टीको तेह्रौं महाधिवेशनयता चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म काँग्रेसको सम्पत्ति झण्डै एक करोड रुपैयाँ बढेको हो ।चौधौं महाधिवेशनमा सो पार्टीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख भएअनुसार अहिले काँग्रेस पार्टीका सबै खर्च कटाएर पनि कम्तिमा आठ करोड १६ लाख ६२ हजार ११६ रुपैयाँ बचतमा छ । गत आर्थिक वर्षमा तीन करोड चार लाख ४९ हजार १०५ रुपैयाँ खर्च गरेकोमा ११ करोड २१ लाख ११ हजार २२१ रुपैयाँ कूल आम्दानी गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा काँग्रेसले पाँच करोड ८८ लाख ३९ हजार ८२ रुपैयाँ कूल आय गरेकोमा आठ करोड ३७ लाख ३८ हजार ८०९ रुपैयाँ खर्च गरेको थियो । सो वर्ष काँग्रेस दुई करोड ४८ लाख ९९ हजार ७२८ रुपैयाँ घाटामा थियो । तर, गत आर्थिक वर्षभित्र ११ करोड २१ लाख ११ हजार २२१ रुपैयाँ कूल आम्दानी गरेकोमा तीन करोड चार लाख ४९ हजार १०५ रुपैयाँ खर्च गर्दै काँग्रेस आठ करोड १६ लाख ६२ हजार ११६ रुपैयाँ बचतमा देखिएको हो । गत आर्थिक वर्षमा क्रियाशील सदस्यबाट प्राप्त दस्तुर तथा नवीकरण आम्दानीमा उल्लेख्य वृद्धि भएको, आर्थिक वर्ष २०७६/७७ मा चुनावका लागि र गत आर्थिक वर्षमा कोभिड महामारी नियन्त्रणका लागि चन्दा तथा सहयोग प्राप्त भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।








प्रतिक्रिया