अर्थ-वाणिज्य

कांग्रेसको जारी महाधिवेशनमा आज मध्याह्न अघिसम्ममा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय उपलब्ध हुने



काठमाडौं २६ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । वर्तमान सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल पक्ष र यसअघि नै घोषणा गरेका विमलेन्द्र निधिबीच सभापतिमा प्रतिस्पर्धा हुने आकलन कांग्रेस कार्यकर्ताहरुको थियो। यसअघि देउवाको टिममा रहेका निधिले पनि अन्तिममा सहमति गर्ने अनुमान विपरित उम्मेदवारी परेको छ । आज मध्याह्न अघिसम्ममा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय उपलब्ध हुनेछ।

धेरै जनाको उम्मेदवारी परेको कारण कसैले फिर्ता नलिए पहिलो चरणमै निर्वाचनमा सभापति निर्वाचित हुने सम्भावना न्यून हुने देखिएको छ । सभापतिमा जितका लागि कम्तिमा ५१ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । गत महाधिवेशनमा पनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच भएको मतदानमा कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि धेरै मत ल्याएका दुई जना देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको थियो । र, बाजी देउवाले मार्नुभएको थियो । १३ औं महाधिवेशनमा कांग्रेसका महाधिवेशन प्रतिनिधिले सभापतिका लागि दुई पटक मतदान गरेका थिए ।

अहिलेको अवस्था पनि त्यस्तै हुने कतिपयको अनुमान छ । संस्थापन पक्षका देउवाबाट छुट्टिएर निधिले सभापतिमा उम्मेदवारी दिनुभएको छ । निधिले संस्थापन पक्षकै भोट काट्ने छन् भने इतर पक्षको अवस्था पनि उस्तै छ । सभापतिका दुई उम्मेदवार डा. शेखर कोइराला र प्रकाशमान सिंहबीच भोट बाँढिने निश्चित प्राय छ । अन्य दुई उम्मेदवारले धेरै मत नकाटे पनि त्यसको सामान्य प्रभाव पर्न सक्छ ।

देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच तालमेल भएको छ। तर, उक्त पक्षसँग धेरै मत भने रहेको छैन । सोमबार मतदान सकिएपछि सबैभन्दा पहिला सभापतिको मत गणना गर्ने र ५१ प्रतिशत मत कसैले नल्याए पुनः मत गणना गर्ने कार्यक्रम कांग्रेस निर्वाचन समितिको छ । त्यसपछि मात्र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मत गणना हुने जनाइएको छ ।

देउवाको दाबी : पहिलो चरणमै जित्छु

देउवाले आफूले पहिलो चरणमै जित्ने दाबी गर्नुभएको छ । सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै देउवाले यस्तो दावी गर्नुभएको हो । ‘सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु,’ देउवाको भन्नुभएको छ । सभापति पदमा उम्मेदवारी दिएपछि ट्वीट गर्दै उहाँले भन्नुभएको छ, ‘कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ। यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु।’

उहाँ निकट नेताहरु पनि पहिलो चरणमै जित देउवाले निकाल्ने दाबी गर्छन् । तर, देउवाले पाँच वर्ष पार्टी हाँकीसक्नु भएको छ । उहाँले नेतृत्व लिएको समयमा देशमा भएको तीन तहको चुनावमा कांग्रेस निकै कमजोर देखियो । वामपन्थी दलका अगाडी कांग्रेस निरीह देखियो । उहाँले हारमा समेत आफ्नो कमजोरीलाई स्वीकार गर्नुभएन । सरकारको नेतृत्व गरिरहेका भए पनि उहाँको शासन कालमा कांग्रेस नेता कार्यकर्ताले वाउ भन्ने खालको काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । यस्तोमा देउवाले दाबी गरेजस्तो पहिलो चरणमै सहजै चुनाव जित्ने सम्भावनालाई अर्का सभापतिका उम्मेदवार प्रकाशमान सिंहले स्वीकार गर्नुभएको छैन ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६