प्रदेश

शेयर बजारमा लगानी ‘साम्राज्यवादको विकसित रूपः प्रचण्ड



काठमाण्डौ, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गर्नुभएको छ ।

हिजो शनिवार माओवादी केन्द्रको सबै प्रदेशको सम्मेलनलाई काठमाण्डौबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषयलाई पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाउनुभयो ।

अध्यक्ष प्रचण्डले शेयर बजारप्रति लक्षित गर्दै पहिले–पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर अहिले लगानी पुँजी वा दोस्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको बताउनुभयो । उहाँले नेपाललगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार,आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरूमा हुने गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो,‘पुँजीको लगानी पुँजीमा हुनु साम्राज्यवादको विकसित हुनु हो । उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विशेषता भएको छ । अहिले धितोपत्र बोर्ड, सट्टा बजार, आईएमएफ, विश्व बैंक, एसियाली बैंकलगायतमा लगानी हुन्छ । हामीले यी बैंकहरूले पैसा जम्मा गरेर यताउता लगानी गर्दछन् भन्ने गरेका छौँ । तर त्यस्तो होइन । यसरी शेयर बजारमा लगानी गर्नु साम्राज्यवादको विकसित रूप हो । यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने, नाफा उठाएर विश्वका सीमित पुँजीपतिहरूको हातमा संसारकै धन एकट्ठा गर्ने योजना हो । यसरी विश्वको पैसा सीमित पुँजीपतिहरूले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङ्गो राख्ने प्रणाली पुँजी बजार हो । पुँजी बजारमा लगानीको विकास र विस्तारलाई हामीले परास्त गर्न सक्नुपर्छ । पुँजी बजारबाट पुँजीपतिहरूले सिधै पुँजीबाट पुँजी लिने गर्दछन् । पुँजीको लगानी उत्पादनमा हुँदैन, धितोपत्रमा र सट्टा बजारमा हुन्छ । बैंकहरूले सिधै घरजग्गा किनबेचमा लगानी लगाउँछन् । घरजग्गाको कारोबारबाट सिधै पैसा आउने गर्दछ । थोरै लगानीमा छोटो समयमा अरबौँ कमाउने गरेका छन् । अहिले विश्वभर नै शेयर बजारमा लगानी बढ्न थालेको छ ।’

अध्यक्ष प्रचण्डले विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले यस प्रकारमा विकृतिको विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारामा माओवादी आएको बताउनुभयो । यसको अनुसन्धान नगरेसम्म देशमा, देशको अर्थतन्त्रमा उज्यालो नआउने पनि उहाँको भनाइ छ ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६