लुम्बिनी, २८ मंसिर ।
नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशको सम्मेलन सकिए पनि अझै नयाँ नेतृत्वको टुङ्गो लाग्न सकेको छैन । २५३ सदस्यीय प्रदेश कमिटीका लागि सम्मेलनले २१७ जनाको नाम टुङ्गो लगाएको थियो । तर, बाँकी पदाधिकारीको विषयमा सहमति नजुट्दा एक हप्ता भित्र टुङ्ग्याउने सहमति भएको छ ।
शनिबार बेलुकादेखि बसेको बन्दसत्रले २ सय १७ सदस्यीय प्रदेश कमिटी चयन गरे पनि अध्यक्षसहित अन्य ९ पदका लागि पदाधिकारी चयन गर्नुपर्ने सहमति नहुँदा एक हप्ता भित्र टुङ्ग्याउने गरी सकिएको माओवादीका एक प्रदेशस्तरीय नेताले बताए ।
लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल र तुलसीराम पुनले दाबी गरेका हुन् । बराल लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री थिए । पुन भने पार्टीको दाङ जिल्ला संयोजक हुन् । यसअघि दाबी गरेका प्रदेश सांसदद्वय दिपेन्द्र पुन र दावा शर्मा तथा नेता जगप्रसाद शर्मा र डोरप्रसाद उपाध्याय भने पछि हटेको स्रोतले बताएको छ । उनीहरूले केन्द्रमा व्यवस्थापन गर्ने सहमति भएको छ । पदाधिकारीमा पनि अधिकांश टुङ्गो लागे पनि सचिव पदमा टुङ्ग्याउन निकै सकस भएपछि सबै पदहरूको सर्वजनिक नगरीकन टुङ्ग्याएको हो । माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलाराम घर्तीमगरले केही दिनमा बैठक बसेर पदाधिकारी टुङ्गाउने बताए । यस अघि सोमबार पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्ने भनिए पनि सहमति नजुट्दा पत्रकार सम्मेलनसमेत स्थगित गरिएको हो ।
प्रतिक्रिया