अर्थ-वाणिज्य

बिजुली बेचेर व्यापार घाटा कम हुँदैन, देशमै खपत गर्नुपर्छः अर्थमन्त्री शर्मा



काठमाण्डौ, २९ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले बिजुली बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । आज बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बिजुली बेचेर व्यापार घाटा कम नहुने बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले बिजुली खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्‍टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । उहाँले बिजुली महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

अहिले बिजुली बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्ता गरिरहेको बताउनुहुँदै बिजुली बिक्रीबाट अर्थतन्त्र बलियो नहुने बताउनुभएको हो । बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा बिजुली उपलब्ध गराएर खपत बढाउनुपर्ने बताउनुभयो । ‘बिजुली उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ’, उहाँले भन्नुभयो, ‘एकातिर बिजुली खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’

नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिनुभयो । यसलाई आउँदो आर्थिक वर्षमा समेटिने समेत उल्लेख गर्नुभयो ।

उहाँले कुन उद्योगलाई कहाँ कति बिजुली उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर बिजुली उपलब्ध गराउनुपर्ने बताउनुभयो । विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर बिजुली सहुलियतमा उपलब्ध गराउनुपर्नेमा मन्त्री शर्माले जोड दिनुभएको हो । यसले देशलाई उत्पादनमुखी अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यस्तै निजी क्षेत्रले देशको गार्हस्थ्य उत्पादनमा ठूलो योगदान गरिरहेको स्मरण गर्नुहुँदै मन्त्री शर्माले निजी क्षेत्रकै सुझावअनुसार आउँदो नीति तय गरिने पनि बताउनुभयो ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६