अर्थ-वाणिज्य

एमसीसीसँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा लैजाने तयारी : देउवा



काठमाडौं १ पुस । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले नेपालसँग भएको एमसीसी सम्झौता पालना हुने/नहुने बारे जवाफ पर्खने भएको छ । गएराति अमेरिकामा बसेको एमसीसी मुख्यालयको बोर्ड बैठकले नेपालको जवाफ पर्खने निर्णय गरेको हो ।

यसअघि एमसीसी पारित गर्न ढिलाइ भइरहेको भन्दै अमेरिकाले असन्तुष्टि जनाएको थियो । सङ्घीय संसद्को चालु दशौँ अधिवेशनमै एमसीसीलाई अघि बढाउने तयारी भएकाले पनि एमसीसी मुख्यालयले नेपालको जवाफ पर्खने निर्णय गरेको अनुमान छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसीसँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा लैजाने तयारी गर्नु भएको खबर सार्वजनिक भएका छन् । देउवाले एमसीसी संसदमा पुर्याएर आफूले पास गर्न खोजेको सन्देश अमेरिकालाई दिन खोज्नु भएको छ । तर, एमसीसीका विषयमा गठबन्धन दलबीच नै एकमत छैन ।

सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन् । आउँदो मङ्गलवार बस्ने संसद् बैठकमा एमसीसीको प्रस्ताव लैजान गठबन्धन र विपक्षी दलसँग निर्णायक छलफल हुने सम्भावना छ ।

एमसीसी अनुमोदन गराउने वातावरण बनाउन प्रधानमन्त्री देउवाले विपक्षी दलसँग पनि परामर्श गर्दै आउनु भएको छ । २०७४ भदौ २९ मा नेपालले झण्डै ५५ अर्ब रुपैयाँ अनुदान सम्बन्धी एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो ।

नेपालमा एमसीसीको अनुदान सम्झौताबारे लामो समयदेखि बहस हुँदै आएको छ । केहीले यसलाई कार्यान्वयन गर्दा केही फरक नपर्ने बताएका छन् भने केहीले यो राष्ट्रघाती हुने भन्दै यसको विरोध गर्दै आएका छन्।

प्रकाशित : १ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६