अर्थ-वाणिज्य

साहुको ऋणले गाउँ नै विस्थापित ।



जाजरकोट, २ पुस । साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही हैरानी ब्यहोरिरहेका छन्।

बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका प्रायजसो दलित समुदाय विस्थापित भएका छन् । जति भारतबाट कमाइ ल्याए पनि साहुको ऋण तिर्न नै पुग्दैन, प्रायसबै गाउँलेको जग्गासमेत साहुले लिइसकेको वडा सदस्य नन्दबहादुर विकले बताउनुभयो । साहुको ऋण तिर्नका लागि भारत पुगेका धर्मबहादुर वरले भन्नुभयो, ऋण तिर्न परिवारसहित भारत आएको छु, दुई वर्ष भइसक्यो, तर जति दिए पनि कहिल्यै ऋणले छाड्दैन।

अर्का पीडित गोब्लो लुहारले पनि दुई वर्ष पहिला घरजग्गा साहुलाई दिएर गाउँ छोडी कोठियाघाट पुगेको बताउनुभयो । छ जनाको परिवारसहित कटीगाउँ छाडेका गोब्लो बर्दिया कोठियाघाटको ऐलानी जग्गा खनेर बसोबास गरिरहेका छन् । ऋण तिर्न नसकेपछि स्थानीय वीरमान विकको परिवार पनि एक वर्षदेखि विस्थापित जीवन बिताउन बाध्य छन् ।

साहुको ऋण तिर्न नसकेर गाउँ छाड्न बाध्य भएका यी त प्रतिनिधि पात्र मात्र हुन् । कटीगाउँका १५८ घरधुरीका दलित समुदायमध्ये साहुको पाँच लाख रुपैयाँदेखि आठ लाख रुपैयाँसम्मको ऋण नभएका कोही पनि नभएको वडा सदस्य विकले जानकारी दिनुभयो । अहिलेसम्म कटीगाउँबाट सरकारी जागिर खानेहरूमध्येका दीपक विक मात्र हुनुहुन्छ ।

२०५९,६० सालतिर नेपाली सेनाको जवानमा भर्ती भएका दीपकले जागिर खाएपछि भेरी नगरपालिका–१३ कुदुमा घरजग्गा किनेर बसाइँ सर्नुभएको छ । त्यस गाउँबाट अहिलेसम्म एसएलसी पास गरेर अमृत विकले मात्रै पश्चिम रुकुम चौरजहारीमा रहेको शीतल बहुमुखी क्यापसबाट बीएड पास गर्नुभएको छ ।

किन डुबे ऋणमा ?

आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले वर्षमा छ महिना पुग्दैन । त्यहाँका बासिन्दाले स्थानीय साहुसँग उधारो खाद्यान्न लिएर खाने गरेका छन् । गाउँमा राम्रो उत्पादन नहुने, रोजगारी अभावका कारण त्यहाँका अधिकांश पुरुष कमाइ गर्न भारतलगायत अन्य देशमा जाने गरेका छन् ।

श्रीमान कमाइ गर्न भारत जानुहुन्छ, हामी यही बस्छौँ, साहुबाट चामललगायत अन्य खाद्यान्न ल्याएर खाने गरेका छौँु, स्थानीय पवित्रा वरले भन्नुभयो । उहाँ भन्नुहुन्छ– हामी पसलबाट ल्याउँदै गर्छौँ, साहुको डायरीमा बढ्दै जान्छ, चाडपर्वका लागि श्रीमान भारतबाट आउनुहुन्छ पैसा तिर्नुहुन्छ, थोरै बाँकी रहन्छु। फेरि अर्को साल उत्तिकै हुने गरेको दुःखेसो पोख्नुभयो ।

स्थानीय साहुले खाद्यान्नको ब्याजसमेत जोडेर त्यहाँका मानिसलाई ऋणमा डुबाएको एक स्थानीयवासीले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार कटीगाउँका अधिकांश नागरिक पढेलेखेका छैनन्, जति भने पनि तिरिदिन्छन् भन्ने साहुको मानसिकताका कारण खाद्यान्नमा कानुनविपरीत ब्याजसमेत जोड्ने गरेका छन् ।

दर्जन परिवार विस्थापित

साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका–११ कटीगाउँका दर्जन दलित समुदाय विस्थापित भएका छन् । यहाँका १५८ घरधुरी भएको कटीगाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो ।

आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना खाना नपुग्ने कटीगाउँका दलित समुदाय साहुबाट ऋण लिएर दैनिक गुजारा चलाउँदै आएका छन् । यसरी लिएको ऋण तिर्न नसक्दा केही दलित समुदायका स्थानीयवासी विस्थापित हुनुपरेको स्थानीयवासी नरबहादुर विकले बताउनुभयो ।

स्थानीय जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक भारतमा काम गरिरहेका छन् । साहुको ऋण तिर्ने अवस्था भएमा मात्र गाउँमा आउने उनको भनाइ छ । यस समुदायका अधिकांश बालबालिका कक्षा ३ मा पढेर विद्यालय छाड्ने गरेका छन् । आर्थिक स्थिति कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको उनीहरू बताउँछन् ।

आधा दर्जन स्थानीयवासीको जग्गा साहुले आफ्नो नाममा लिएपछि जीवन निर्वाहका लागि भारत गएर विस्थापित भएका छन् । कटीगाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानीयवासी साहुको ऋण तिर्न नसकेर साहुलाई जग्गा पास गरी भारत विस्थापित भएका हुन् ।

२५ घरधुरी अतिविपन्न

कटीगाउँका १५८ घरधुरीमध्ये २५ घरधुरी अतिविपन्न रहेको एक तथ्याङ्कले देखाएको छ । भेरी नगरपालिकाको समन्वय, रिसर्च इनपावरमेन्ट ९काठमाण्डौ० र नेप्सकोन सुर्खेतको सहजीकरणमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षणअनुसार ३१ घरधुरी विपन्न, ३५ घरधुरी एक वर्ष काम गरी पाँचरछ महिना खान पुग्ने, ५१ घरधुरी तीन महिनासम्म खाना पुग्ने सर्वेक्षणले देखाएको नेप्सकोन सुर्खेतद्वारा सञ्चालित दलित महिला तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चितताका लागि स्थानीय शासन सुदृढीकरण कार्यक्रममा कार्यरत अमृत विकले जानकारी दिनुभयो ।

स्थानीय सरकारको पुग्दैन नजर

देश सङ्घीयतामा गएसँगै गाउँगाउँमा सिंहदरबार आए । काठमाण्डौको सिंहदरबार गाउँमा आएको नारा लागे तर कटीगाउँवासीका लागि भने यो नाराले सार्थकता पाएको छैन । सिङ्गो गाउँ नै ऋणमा डुबेको छ, स्थानीय सरकारका कुनै कार्यक्रम कटीगाउँवासीका लागि केन्द्रित छैनन् । भेरी नगरपालिकाले कटीगाउँवासीका लागि कुनै कार्यक्रम नल्याएको स्थानीय नरबहादुर विकले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, नगरपालिकाले हाम्रो गाउँलक्षित कुनै कार्यक्रम ल्याएको छैन, गाउँका बासिन्दा सबै ऋणमा डुबेको पटक–पटक जानकारी गरायौँ, खासै चासोका रूपमा लिएको देखिँदैनु, हाम्रो गाउँमा क्षमताअनुसारको रोजगारी व्यवस्था गरेको भए हामीलाई सहज हुने थियो ।ु गएको आर्थिक वर्ष २०७७,७८ मा नगरपालिकाले कटीगाउँवासीका लागि १३ लाख रुपैयाँ रकम विनियोजन गरी सुधारिएको चुलो वितरण गरेको थियो ।

कटीगाउँका दुईरचार जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिदिएको भए भोलिका पुस्ताले राम्रोसँग जिउन सक्ने थिए स्थानीय रामबहादुर विकले बताउनुभयो । यता नगरपालिकाले थालेको छुवाछुतमुक्त नगर घोषणा कार्यक्रममा ४४ लाख रुपैयाँ विनियोजन गरेको छ । पुसको तेस्रो हप्तादेखि यो अभियान सञ्चालन गरिने नगरपालिकामा कार्यरत अधिकृत अनिश शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ुकटीगाउँवासीका लागि चुलो वितरण, जातीय छुवाछुत मुक्त नगरपालिका घोषणाका कार्यक्रम गरेको छ ।ु

नगरपालिकाका नगरप्रमुख चन्दप्रकाश घर्तीले नगरपालिकाका १३ वटै वडाका दलित समुदायका लागि समग्र सूचकमा आधारित काम गर्ने योजना रहेको बताउनुभयो । जसमा कटीगाउँ पनि समावेश रही त्यहाँको जीवनस्तर उकास्ने उहाँको भनाइ छ ।

जातीय छुवाछुतमुक्त नगर घोषणा कहिलेदेखि सञ्चालन हुने भन्ने विषयमा छलफलसमेत भएको छैन । स्थानीय सरकारले दलित समुदायका लागि प्रभावकारी काम गरेको पाइँदैन । नगरपालिकाको जनसङ्ख्याको आधा हिस्सा ओगटेको दलित समुदायका लागि कुनै कार्यक्रम नहुनुले नगरपालिकाको सेवाप्रवाहमा समेत प्रश्न उठ्ने छ । यहाँ पीडित दलित समुदायका स्थानीयवासीले सबै तहका सरकारलाई ज्ञापनपत्रसमेत बुझाइसकेका छन् तर कुनै सुनुवाइ भएको छैन ।
रासस

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६