दाङ ४ पुस। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नहुनेलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताउनु भएको छ ।आइतबार फेसबुकमार्फत उहाँले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने बताउनु भएको छ । लाखौं जन्मसिद्ध नागरिकलाई राज्यले अझैसम्म नागरिकता दिन नसकेको र मधेसमा पनि लाखौं नागरिकले नागरिकता प्रमाणपत्र पाउन नसकेको यादवले बताउनु भयो ।
‘यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु, निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक हुनुका साथै अन्तर्राष्ट्रिय कानूनका विपरीत र मानवताविरोधी कार्य हुनु’ उहाँले भन्नु भएको छ, ‘निरङ्कुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन ।’हाल नेपालमा नागरिकता प्रमाणपत्र लिएका १८ वर्षमाथिका व्यक्तिको नाम मात्र निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश गर्ने गरेको छ । मतदाता नामावलीमा नाम भएकाहरुले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् ।नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुन नसक्ने यादवले बताउनु भयो ।
४ पुस २०७८, आइतबार
प्रतिक्रिया