प्रदेश

दीक्षित विद्यार्थीहरूले ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्नुपर्छः मन्त्री पौडेल



काठमाण्डौ, ०५ पुष । – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको छ । आज सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको हो । उहाँले दीक्षित विद्यार्थीहरूले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै देशको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउनुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको पनि बताउनु भयो । उहाँले अनुसन्धानात्मक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस आफूले गरेको बताउँदै त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने शिक्षा नेपालमै प्रदान गरेर उच्च शिक्षा अध्ययनको व्यवस्था स्वदेशमै मिलाउनु पर्ने बताउनु भयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘त्रिविका विभिन्न समस्या पहिचान गरी समाधान गर्न, गम्भीर प्रयत्न गर्नुपर्ने आवश्यक्ता मैले महसुस गरेको छु र त्रिविका शिक्षक र कर्मचारीका प्रतिनिधिसँग भेटघाट तथा पदाधिकारीसँग भएको छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नति विकास र सहयोगका लागि नेपाल सरकारको तर्फबाट सहकुलपतिको हैसियतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि यहाँहरूसमक्ष प्रस्तुत गर्न चाहन्छु । दीक्षित हुने विद्यार्थीहरूले आफूसँग भएको ज्ञानलाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै देशको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउनुपर्छ । सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । विश्वविद्यालयमा कुनै निश्चित समयमा हासिल गरिएको ज्ञान,सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यावहारिक र जीवनोपयोगी बनाउन आवश्यक छ । पछिल्लो समयमा नेपालमा ठूला राजनीतिक परिवर्तनको फलस्वरूप जनतामा सामाजिक, सांस्कृतिक र राजनीतिक चेतनाको विकास हुँदै गइरहेको छ । अनुसन्धानात्मक संस्थाहरूलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने महसुस गरेको छु । गुणस्तरीय शिक्षाका लागि विषयगत सक्षम शिक्षक र लगनशील एवम् अनुशासित, मेहनति विद्यार्थीहरूको आवश्यक्ता रहेको छ । पछिल्लो समय नेपाली विद्यार्थीहरू विदेशमा उच्च शिक्षाका लागि जानेहरूको लर्को लागेको छ, त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने खालको शिक्षा स्वदेशमै दिन सक्नुपर्छ ।’

मन्त्री पौडेलले विश्वविद्यालयबाट विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले विदेशिन बाध्य भएका विद्यार्थीहरूलाई स्वदेशमा नै उच्चस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्वदायी भूमिका त्रिभुवन विश्वविद्यालयले निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६