कपिलवस्तु ५ पुस -मानव सजीव प्राणी मध्ये एक चेतनशील अन्तर्गत पर्दछ । बच्चा जन्मिन्छ तर क्रमशः ठूलाे हुँदै गएपछि सपना बुन्छ । केहि सपना विपनामा परिणत हुन्छ त केही अकालमै तुहिन्छ । सानै छँदा बच्चाले पाउने अधिकार समेत सरकारले नै निर्धारण गरिदिएकाे विद्यमान छ । जसमा एकदमै महत्त्वपूर्ण भूमिका शिक्षाले निर्वाह गरिरहेको पाइन्छ ।
शिक्षा प्राप्त गर्नु बालबालिकाकाे नैसर्गिक अधिकार अन्तर्गत पर्दछ । सरकारले सबै बालबालिकाहरूलाई शिक्षाबाट वञ्चित हुन नदिन शिक्षालाई सुनिश्चित गरेकाे छ । तर विविध परिस्थितिका कारण केही बालबालिका शिक्षाबाट वञ्चित हुने गरेका छन् । जसमा केहि गरिबी, आर्थिक अभाव, पारिवारिक समस्या र चेतनाकाे कमी लगायतले अध्ययनमा चुनाैती दिइरहेकाे देखिन्छ ।
भविष्यकाे कर्णधार मानिने कलिला बालबालिका साँझ र बिहान छाक टार्नका लागि अप्ठ्यारो भन्दा अप्ठ्यारो इट्टाभट्टा जस्तो उद्योगमा काम गर्न बाध्य हुन्छन् । इट्टा उद्योगमा मात्र हाेइन हाेटल, कलकारखानामासमेत सा-साना कलिला उमेरका बालबालिकाहरूकाे श्रमशाेषण हुँदै आएकाे पाइन्छ । कानुन बमोजिम बालबालिकालाई श्रममा लगाउनु बाल श्रमशाेषण मानिन्छ ।
यसलाई कानुनले दण्डनीय र सामाजिक अपराधसमेत मान्ने गरेकाे छ । ती बालबालिकाहरूले यसरी गैरकानुनी कार्यमा संलग्न हुँदै आए पनि सरकार वा सम्बन्धित निकायले कुनै किसिमको प्रभावकारी कदम चाल्न सकेकाे छैन् । आर्थिक र पारिवारिक चपेटामा परेका साथै खासगरी बुवा आमाकाे नागरिकता नभएका बालबालिकाहरु उद्योगधन्दाहरूमा संलग्न हुँदै आएकाे एक स्राेतकाे तथ्यांकमा उल्लेख छ ।
उद्योग सञ्चालकहरूले बढी आम्दानी हुने भन्दै विभिन्न बाध्यता तथा प्रलोभनमा पारेर दिनरात काममा खटाइरहेकाे पाइन्छ । यसरी बालबालिकाले स्वतन्त्रपुर्वक नभई बाध्यताले एक छाक टार्नका लागि उद्योगमा काम गर्दै आएका छन् । अब तिनीहरूले त शिक्षाबाट वञ्चित नहुने न कुरै भएन् । बालबालिकाहरु यसरी उद्योगधन्दामा प्रयाेग भइरहँदा हरेक ठाउँहरूमा बाल श्रमशाेषणमुक्त बनाउन जरुरी देखिन्छ । ती बच्चाहरुकाे जिम्मेवारी कसले लिने ? किन बाध्य भएका छन् ? कसले खाेजी गर्ने ? के तिनीहरूलाई संरक्षणकाे आवश्यकता छैन् ? लगायत विविध प्रश्नले जवाफ खाेजिरहेकाे छ ।
एक स्राेतकाे तथ्यांक अनुसार अहिले कपिलवस्तु जिल्लाकाे बुद्धभूमी, महाराजगञ्ज र शिवराज नगरपालिकामा मात्रै ३ सय ८१ बालबालिकाहरूले उद्योगमा काम गरिरहेकाे पाइएकाे छ । जसमा बालिका १ सय ६० र बालक ३ सय २१ जना रहेका छन् । बुद्धभूमिकामा १ सय २७ जना, महाराजगन्जमा १ सय ८५ जना र शिवराज नगरपालिका ६९ जना बालबालिका रहेका छन्
अधिकांश बालबालिका ५ देखि ९ वर्ष, १० देखि १३ वर्ष र १४ देखि १८ वर्ष उमेर समूहका छन् । सबै भन्दा बढी ५ देखि ९ र १० देखि १३ वर्ष उमेरका बालबालिकाहरूले इट्टा उद्योगमा संलग्न रहेकाे स्राेतले जनाएको छ । कपिलवस्तु इट्टा उद्योगमा मात्रै २४ जना बालबालिकाहरु जाेखिम मल्दै काम गरिरहेका छन् । स्राेतका अनुसार गरिब, आर्थिक रूपमा कमजोर तथा निम्न वर्गका अधिकांश बालबालिकालाई उद्योग सञ्चालकले प्रयोग गरिरहेकाे बताइएको छ ।
कपिलवस्तु इट्टा उद्योगमा काम गर्ने (नाम परिवर्तन) १३ वर्षीय रिमा परियारले विगत २ वर्षदेखि काम गर्दै आएकी छन् । उनी विजयनगर गाउँपालिका वडा नं.१ मा बस्दै १ आएकी बासिन्दा हुन् । बुवा आमासँगै भाई बहिनी हेर्नका लागि इट्टा उद्योगमा आउन थालेकाे रिमाले बताइन् । यसरी कक्षा ४ मा पढ्दा पढ्दै अध्ययन छाेड्न बाध्य भएकाे उनले सुनाइन् । रिमाले भनिन् “बुवा आमासँग सधैँ आउँदै गर्दा विस्तारै इट्टा बनाउन सिँके, यहाँ विगत २ वर्षदेखि इट्टा बनाउँदै आएकाे छु, पढ्ने इच्छा भए पनि पारिवारिक र आर्थिक बाध्यताले गर्दा अरू केही साेच्नै सकेकाे छैन” ।
यस्तै केही समय बित्दै जाँदा इट्टा उद्योगमा काम गर्ने आफ्नै जातका १६ वर्षीय एक किशोरसँग गत फागुनमा बिबाह पनि गरेकाे उनले बताइन् । खाना बस्न समस्या भएपछि इट्टा बनाउने काममा लागेको उनकाे भनाइ छ । अहिले केही दिनदेखि सबै परिवारसहित ससुरा बुवासँग मिलेर इट्टा उद्योगमा बस्दै काम गर्दै आएकाे समेत रिमाले जनाइन् । १ हजार इट्टा बनाए बापत ठेकेदारले १ हजार ३ सय रुपैया दिने गरेकाे उनले उल्लेख गरिन् ।
उनकाे ससुरा बुवा कृष्ण परियारले सबै मिलेर काम गर्दा अलि बढी पैसा कमाउन सकिने हुँदा परिवारसहित काममा लागेकाे बताए । स्राेतकाे जानकारी अनुसार उनीहरुले गास बासका लागि भाैतारिँदै गर्दा कपिलवस्तु इट्टा उद्योगबाट जीवन निर्वाह गर्न पेश्की स्वरुप पैसा लिए । अहिले त्यही पैसा चुकाउन उनीहरु अहाेरात्र काम गर्न बाध्य भएकाे बुझिएको छ । तिनीहरूकाे अवस्था हेर्दा साह्रै दयनीय र नाजुक स्थितिमा काम गरिरहेका भेटिन्छन् । यी उद्योगमा प्रयाेग भएका बालबालिकाहरु एक पात्र मात्र हुन् जसकाे कुनै तथ्यांक नै छैन् ।
दलित मानव अधिकार निगरानी समिति कपिलवस्तुकी अध्यक्ष मीना परियारले जाेखिममा रहेका बालबालिकालाई उद्धार गर्दै शिक्षा र जिविकाेपार्जनमुलक सीप लक्षित गरि कार्यक्रमकाे सञ्चालन गर्दै आएकाे बताएकी छन् । बाल श्रम निवारणका लागि स्थानीय निकायमा कानुनी प्रवधान लगायत क्षमता विकासका अभियान समेत सञ्चालन गर्दै आएकाे उनले जनाइन् । इट्टा व्यवसायी लगायत सम्बन्धित निकायसँग समन्वय गरी बाल श्रममा नलगाउने प्रतिबद्धता गराउने याेजनामा रहेकाे समेत अध्यक्ष परियारले जानकारी दिइन् ।
यसै बिषयमा कपिलवस्तु इट्टा उद्योगका म्यानेजर मुन्सी मुस्तफाका अनुसार आफुले बालबालिकालाई काममा नलगाएकाे जिकिर गर्दै ठेकेदारमार्फत इट्टा बनाउने जिम्मा दिएकाे बताए । पटक-पटक मुस्तफालाई फाेनबाट बुझ्न खाेज्दा ठेकेदारले बालबालिकालाई लगाएको हुन सक्ने जानकारी दिए । सञ्चालककाे सम्पर्क नम्बर समेत उनले दिन मानेन । यसरी २ वर्ष लामाे समयदेखि बालबालिकाहरू आफ्नै उद्योगमा काम गर्दै आए त पनि बालबालिकालाई प्रयोग नगरेकाे भन्दै गैरजिम्मेवारीपुर्ण म्यानेजर मुस्तफाले जवाफ दिए ।
विभिन्न संघ संस्थाहरूले बाल श्रम, बाल शाेषणा विरुद्ध विविध कार्यक्रमहरू सञ्चालन गरिए पनि परिणाममुखी देखिएकाे छैन् ।
प्रतिक्रिया