कपिलवस्तु, ०८ पुष ।
कपिलवस्तुमा विहिबारसम्म करिब ६० हजार बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइएको छ । जिल्लाका १० पालिकामा संचालन गरिएको खोप अभियान अन्तर्गत विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाईएको हो ।
यो अभियान १४ पुससम्म सञ्चालन गर्ने र ८० हजार बालबालिबालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत ठगराज पौडेलका अनुसार बाणगंगामा विहिबारसम्म ७ हजार ३ सय ११ जना विद्यार्थीलाई खोप दिईसकिएको छ ।
विहिबार एकैदिन २ हजार ५ सय ११ जना बालबालिकालाई खोप लगाईएको पौडेलले बताए । बाणगंगाका करिब १३ हजार ४ सय बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको र उक्त लक्ष्य पुरा हुने उनले दाबी गरे । यस्तै पौडेलले खोप अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको बताए । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको टोलीले जिल्लाका विभिन्न विद्यालयमा संचालन भईरहेको खोप अभियानको निरन्तर अनुगमन गर्ने कार्य गरिरहेको कार्यालय प्रमुख हेमराज पाण्डेले बताए ।
अनुगमनका क्रममा खोप लगाईसकेपछि बालबालिकामा कुनै गम्भिर असर नगरेको उनले बताए । जिल्लामा हाल स्कुल स्कुलमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन भईरहेको छ । जिल्लामा हालसम्म करिब ३३ जनसंख्याले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाईसकेका छन् ।
प्रतिक्रिया