काठमाण्डौ, ०९ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरू अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेको बताउनुभएको छ ।
आज शुक्रवार नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरू राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्रमा लागेको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताउनुभएको हो ।
राजनीतिक परिवर्तन जोगाउन क्रान्तिका पक्षधर शक्तिहरू एकजुट भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । कम्युनिस्ट पार्टीहरू बीचमा एकता भएमात्रै प्रतिक्रान्तिलाई रोक्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले पनि हामी ढुक्क हुने स्थिति छैन । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी र षड्यन्त्रकारीहरू अहिले पनि प्रतिक्रिया र षड्यन्त्रकै प्रक्रियामा छन् । त्यस कारण हामी देशका, जनताका, क्रान्तिका पक्षधर सबै शक्ति एकजुट भएर त्यसको प्रतिवाद गर्ने कुरामा लाग्नुपर्छ । हामी कम्युनिस्टहरू बीचको एकता सबैभन्दा ठूलो कुरा हो । इमानदार कम्युनिस्ट क्रान्तिकारीहरू बीचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी, क्रान्तिकारी आन्दोलनको नेतृत्वको भूमिका खेल्न सक्दछ । त्यसको नेतृत्व अन्तर्गत सबै देशभक्त, वामपन्थी, प्रगतिशील, सबै जनवादी शक्तिलाई हामीले गोलबन्द गर्न सक्नुपर्दछ र मात्रै प्रतिक्रान्तिको आँधी या हुरीलाई रोक्न सकिन्छ, क्रान्तिको एउटा नयाँ लहर सृष्टि गर्न सकिन्छ ।’
उहाँले अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरूको सिला खोज्दै हिँडेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया