चितवन २० पुस । चितवनमा माछाको मूल्यको विषयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ र माछा व्यवसायीबीच आरोप प्रत्यारोप सुरु भएको छ । सिडिओ तामाङले माछा किन्दा आफू ठगिएको भन्दै ठगी गर्ने व्यवसायीमाथि मुद्दा चलाउने बताएका छन् । माछा व्यवसायीले पनि सोमबार प्रेस विज्ञप्ति जारी गरि सिडिओले पदीय मर्यादा बिर्सिएर व्यवसायीलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
सिडिओ तामाङले माछाको मूल्य बढी लिएको भन्दै आफ्नो पदीय मर्यादा विपरित चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङमाथि आइतबार दुर्व्यवहार गरेको व्यवसायीको आरोप छ ।
नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समिति र जिल्ला समितिले सोमबार विज्ञप्ति जारी गरि सिडिओले प्रहरी प्रशासनसहित पसलमा पुगेर व्यवसायीलाई अपशब्द प्रयोग गर्दै गालीगलोज गरेको बताएको छ । सिडिओ तामाङले व्यक्तिगत स्वार्थका कारण आफूमाथि दुर्व्यवहार गरि माछा राखेको डिप फ्रिजमा तालासमेत लगाएको व्यवसायी लुलाराजले बताएका छन् ।
व्यवसायीका अनुसार सिडिओ तामाङकी श्रीमती आइतबार सरकारी नम्बर प्लेटको ना १ झ ४९९ नम्बरको गाडी लिएर मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपालमा पुगेकी थिइन् । माछा किन्न व्यवसायी लुलाराज पनि फार्ममा पुगेका थिए ।
पोखरीबाट निकालेको माछा बिक्री भएर सकिएपछि लुलाराजले नै सिडिओकी श्रीमतीलाई प्रतिकेजी ३०० रुपैयाँका दरले ५.३ केजी बिक्री गरे । त्यसपछि बाँकी माछा लिएर लुलाराज आफ्नो पसल आए । बेलुकी ५ बजेपछि सिडियो तामाङ पत्नी र सहायक सिडिओ श्रीमतिसहित उनको पसलमा पुगे ।
‘तँ होइन बढी पैसा लिएर माछा बेच्ने । तँ कालाबजारी गर्ने भन्दै अपशब्द बोल्दै गाली गलौज गर्नुभयो’, उनले भने, ‘आफू सिडिओ भएको र आफू प्रशासन भएको भन्दै तथानाम गाली गर्नुभयो ।’ आफूमाथि हातपात भने नभएको उनले बताए ।
घटनापछि सोमबार सहायक सिडिओ चिरञ्जिवी शर्मासँगको छलफलबाट सकारात्मक परिणाम ननिस्किएको खगेन्द्र सुवेदीले बताए ।
प्रतिकेजी २४० रुपैयाँ पर्ने माछालाई प्रतिकेजी ३०० रुपैयाँ लिएर लुलाराजले कालोबजारी गरेको सिडिओ तामाङको भनाइ छ । ‘मैले पुष ९ गते पनि फार्मबाट माछा ल्याएको सात किलो । प्रतिकेजी २४० मा । हिजोपनि माछा लिन गएछन् । एउटा फार्मले चाँहि २४० मा पसलेको नाममा बिल बनायो । त्यहिँ पसलेले फेरि ३०० लिएछ । म ठगिएँ’, उनले भने ।
व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिएकाले कालोबजारीमा मुद्दा चलाएर कारबाही गर्ने उनले बताए । फार्मले प्रतिकेजी २४० मा पसलेलाई माछा बिक्री गरेको बील आफूसँग रहेको उनको भनाइ छ । बेलुका पसलमा चाँहि पसलेसँग माछाको बिल लिन गएको उनले बताए ।
प्रतिक्रिया