प्रदेश

छाउपडी अन्त्यका लागि दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काउनु पर्छः राष्ट्रपति




काठमाण्डौ, २१ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा विकृति र विसङ्गति नहोस् भन्नका लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । आज बुधवार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाण्डौ आएका प्रतिनिधिसँगको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले पश्चिममा छाउपडीको समस्याले विभिन्न घटना निम्त्याइरहेको भन्दै त्यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताउनुभयो । राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलामाथि आपराधिक घटना भइरहेकाले दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा यो छाउपडी त एउटा वैज्ञानिक प्रणाली हो नि मानव शरीरको । त्यो नभइकन सन्तान पनि जन्मिँदैन । तर त्यो कुरालाई पनि यस्तो अन्धविश्वासले जगडेको छ कि, त्यसबाट पनि धेरै घटना भएका छन् । शारीरिक दुःख त हुन्छ हुन्छ । बाहिर बस्नुपर्छ । सर्पले डस्नेदेखि अपराधिक सोच भएकाहरूबाट आक्रमण हुने अनेक प्रकारको दुःख हुने र प्रतिष्ठामा आँच आउने गरेको छ । त्यसलाई हामीले हटाउन जरुरी छ । त्यो एकै पटक सम्भव छैन । नेताहरूले छैन भन्छन्, तर त्यही जिल्लामा बढी हुन्छ । सरकार जान्छ गोठ भत्काइदिएर आउने तर सरकारका प्रतिनिधिहरू सधैँ बसिरहँदैनन् । फेरि गोठ बनाइहाल्ने । दिमागमा जरो गाडेर बसेको छाउ गोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुन्छ ।’

कार्यक्रममा राष्ट्रपति भण्डारीले आजको आवश्यकता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताउनुभयो । उहाँले युवा, युवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनीकरण गर्न समाजिक सङ्घ–संस्थाहरूको ठूलो भूमिका रहेकाले उनीहरूले सरकारसँग मिलेर समाजका विकृति, विसङ्गतिहरू समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले बालबालिकाले सर्वाङ्गीण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको बताउनुभयो । कतिपय सरकारी विद्यालयमा पूर्वाधार कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरूको वृत्ति र तालिमको समस्या रहेकाले त्यसलाई समाधान गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो । विद्यालयमा सुशिक्षा दिएमा मात्रै विकृतिका चाङ न्यूनीकरण गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । महिला र पुरुष भएर नै संसार चल्ने भन्दै राष्ट्रपति भण्डारीले समाजमा महिलाप्रतिका कुसंस्कारलाई हटाएर पुरुषसरह नै अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रम महिलाका लागि सफल भइरहेकाले यस्तै अन्य कार्यक्रम ल्याएर समाज विकासमा लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित : २१ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६