सप्तरी, २१ पुष । प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार गाडी ९जीप० सप्तरीको विष्णुपुर गाउँपालिकामा आज बुधवार बेलुका दुर्घटनामा परेको छ ।
विष्णुपुर ७ नहर चोकमा रहेको भित्री सडक खण्डमा ज १ झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिनुभयो । राज्यमन्त्री कर्णका अनुसार साँघुरो बाटोमा मोड्न खोज्दा जीप अचानक पल्टिएर खेतमा पुगेको थियो ।
राज्यमन्त्रीसहित जीपमा उहाँका स्वकीय सचिव ध्रुवकुमार मण्डल, सुरक्षा गार्ड प्रहरी हवलदार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए ।
सामान्य चोटपटक लागेका सबै जनाको राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा उपचार भएको छ । अवस्था सामान्य रहेकाले सबैलाई औषधि दिएर आराम गर्न घर नै पठाइएको डा। ज्ञानेन्द्र झाले बताउनुभयो ।
राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका ६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको हत्याबारे जानकारी लिँदै परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको स्वकीय सचिव मण्डलले बताउनुभयो । छिन्नमस्ता सडक खण्डको खुदीबखारीमा रहेको झौखराही फूलबारीमा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा मण्डलको शव गएको मङ्सिर ८ गते फेला परेको थियो ।
मण्डलको घरबाट राज्यमन्त्रीको टोली छिन्नमस्ता–१ बरही वीरपुरमा रहेको भुटीदेवी यादवको परिवारलाई भेट्न गइरहेको थियो । यादवको २०७८ पुस १२ गते हत्या भएको थियो । दुवै जनाको हत्या कसले र किन गरेको भन्ने अझै खुल्न सकेको छैन ।








प्रतिक्रिया