काठमाण्डौ, २६ पुष । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ ।
सात वटा विद्यार्थी सङ्गठनको आज सोमवार काठमाण्डौमा बसेको बैठकले एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मापदण्ड विपरीत शैक्षिक संस्था चल्दै गएकोप्रति सम्बन्धित विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकले काठमाण्डौ विश्वविद्यालयअन्तर्गत नोबेल मेडिकल कलेज र काठमाण्डौ मेडिकल कलेजमा भएको भनिएको अनियमिताको समेत छानबिन गर्न माग गरेको छ । लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको कार्यतालिका चाँडो तोक्नसमेत बैठकले माग गरेको छ ।
यस्तै कोरोनाको तेस्रो भेरियन्ट र शैक्षिक क्षेत्रमाथि पर्न जाने सम्भावित जोखिमका बारेमा समेत बैठकमा छलफल भएको नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिनुभयो ।
नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र अखिल छैठौँलगायत विद्यार्थी सङ्गठनका नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रतिक्रिया