सुनसरी ४ माघ -सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ ।दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ ।आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो ।
महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजका लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोसित बनेको भीड तोडफोड र आगजनीमा उत्रिएका थिए ।
तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय सवारी साधनमा पनि आगजनी गरेका छन् । भीड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ । कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले बिराटनगरमै रोकेपछि कार्यक्रम हेर्न भेला भएको भीड तोडफोडमा उत्रिएको हो ।
पुष २३ गतेबाट महोत्सव संचालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो । सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण भीड आक्रोसित बन्दा पछिल्लो घटना सृजना हुन पुगेको बताएको छ ।
प्रतिक्रिया