तुलसीपुर
७ माघ । दाङका प्रमुख बजारहरुमा व्यापारीले सस्तोमा मास्क खरिद गरी महंगोमा विक्री वितरण गदै आएका छन् । पछिल्लो समय बजारमा सर्जिकल मास्कको व्यापार समेत बढेको छ । तुलसीपुर बजार क्षेत्रका अधिकांस पसलमा मास्कको व्यापार भएको देख्न सकिन्छ । तर बजारमा विक्रि वितरण भएको सर्जिकल मास्कको मुल्यमा एकरुपकता छैन । यसका साथै अस्वभाविक मूल्यमा मास्क विक्रि वितरण हुँदा नागरिक मर्कामा परेका छन् ।
व्यापारीले सर्जिकल मास्क ५० पिसको एक प्याकेट ९० देखि एक सय रुपैयामा खरिद गर्दा एक पिसको सरदर दुई रुपैयाँ पर्ने गर्दछ । तर उनीहरुले विक्रि गर्दा प्रति मास्क ५ रुपैयाँदेखि २० रुपैयाँसम्म विक्रि वितरण गर्दै आएका छन् । तुलसीपुर सल्यानरोड स्थित व्यापारी यसोदा ढकालले सर्जिकल मास्कप्रति प्याकेट ९० रुपैयामा खरिद गरी प्रति प्याकेट एक सय रुपैयामा विक्रि गर्दै आएको बताइन् ।
तर उनले फुटकरमा प्रति मास्क १० रुपैयामा विक्रि गरेकी छिन् । उनका अनुसार थोकमा भन्दा फुटकरमा बढि नाफा हुने गरेको छ । प्रतिप्याकेट ९० मा खरिद गरी प्रति प्याकेट एक सयमा विक्रि गर्दा दश रुपैया मात्रै नाफा हुने गरेकोमा फुटकरमा विक्रि गर्दा चार सय बढि नाफा हुने गरेको उनको भनाई छ । पसलका नियमित ग्राहकलाई भने प्याकेट किन्न सुझाएको उनले बताइन् ।
यस्तैगरी अर्का व्यापारी पुर्णिमा चौधरीले सोहि किसीमको सर्जिकल मास्कलाई फुटकरमा प्रति मास्क पाँच रुपैयाँ विक्रि गदै आएकी छिन् । उनले थोरै नाफा लिएर मास्क विक्रि गरेको बताईन । सोही गुणस्तरको सर्जिकल मास्क प्रति प्याकेट एकसय रुपैयाँमा खरिद गरेको बताउँदै उनले प्रति मास्क पाँच रुपैयाँमा विक्रि गरेको बताइन् । एक प्याकेटमा ५० पिस भएकाले आफुले किन्दा प्रति मास्क दुई रुपैया पर्ने गरेको उनको भनाई छ ।
यसमा आफुले उपभोक्ताबाट धेरै नाफा नलिएर व्यापार गरेको उनले बताईन । उनीहरु दुई जना व्यापारी प्रतिनिधि मुलक पात्र मात्रै हुन् ।
व्यापारीले एउटै किसीमको सर्जिकल मास्कलाई फरकफरक मुल्यमा विक्रि गरेका छन् । नागरिकहरुले सर्जिकल मास्क प्रति पाँच रुपैया देखि २० रुपैयाका दरले किन्न बाध्य भएका छन् । तुलसीपुर ७ का प्रकाश नेपालीले दैनिक एउटादेखि दुई वटासम्म सर्जिकल मास्क किन्नु पर्दा २० रुपैया खर्च हुने गरेको बताए ।
सरकारले तेस्रो भेरियन्टको जोखिम बढेको भन्दै घर बाहिर निस्कदा मास्क अनिवार्य लगाउन भनेको हुँदा दैनिक मास्क किन्नु पर्ने बाध्यता रहेको उनको भनाई छ । यसरी व्यापारीले अस्वभाविक मुल्यमा मास्क विक्रि गर्दा आफुहरु ठगीने गरेको उनको गुनासो छ । यसका लागि स्थानीय प्रशासनले अनुगमन गर्नुपर्ने उनले बताए ।
उजुरी आए कारवाही गर्छौ : प्रजिअ रेग्मी
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले उजुरी आए त्यस्ता व्यापारीलाई कारवाही गर्ने चेतावनी दिए । अहिलेसम्म त्यस्तो गुनासो आफु कहाँ आई नपुगेको बताउँदै उनले अस्वभाविक रुपमा मास्क विक्रि गरेको जानकारी र गुनासो आएमा तत्काल अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउने बताए ।
यस विषयमा बजार अनुगमन गर्ने छलफल भईरहेको उनले बताए । कोरोना माहामारीको समयमा कालोबजारी गर्ने, अस्वभाविक रुपमा मुल्य बढाउने, दैनिक उपभोग्य सामानहरुको कृत्रिम अभावको सिर्जना लगायतका गतिविधि गरेको थाहा पाएमा नजिकको प्रहरी प्रशासनलाई सुचना दिन उनले अपिल गरे ।
प्रतिक्रिया