बुटवल ८ पुस ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश राजधानीको गुरुयोजनाको प्रारम्भीक खाकाबारे सरोकारवालासँग छलफल गरेका छन् । दाङ, अर्घाखाँची र प्यूठानको संगमस्थल देउखुरी उपत्यका क्षेत्रमा बनाइएको राजधानी गुरुयोजनाबारे शुक्रबार राती बुटवलमा छलफल भएको हो । लुम्बिनी प्रदेश सरकारको ७९ लाख रुपैयाँको गुरुयोजनाको प्रारम्भिक खाका बनेको छ ।
इकोकोडिइ नेपाल प्राइभेट लिमिटेडले बनाएको गुरुयोजनाअनुसार प्रदेशको राजधानीमा प्रशासनिक, शैक्षिक, स्वास्थ्य, औद्योगिक, यातायात सेवा क्षेत्र, व्यापारिक क्षेत्र, उत्पादन क्षेत्र र आवास क्षेत्र गरी ब्लक बनाइएको छ । गुरुयोजनाले भालुबाङदेखि सिसहनिया हुँदै तीन किलोमिटर दक्षिणसम्म स्थायी राजधानीका लागि पूर्वाधार बन्ने प्रस्ताव गरेको छ। जसमा प्रशासनिक क्षेत्र सिसहनिया–मौरीघाट क्षेत्रलाई र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरु र भीआईपीको आवास रहने व्यवस्था छ ।
गुरुयोजनामा गढवा गाउँपालिका र राप्तीको तल्लो क्षेत्रलाई कृषि एवं केही संस्थागत क्षेत्र गराउन सकिने गुरुयोजनामा प्रस्ताव गरिएको छ । गुरुयोजनाअनुसार भालुवाङ, पाखापानी, मौरीघाट, प्रशासनिक क्षेत्र हुँदै गढवा अनि लोपे हुँदै प्युठान सडकलाई जोड्ने गरी चक्रपथ प्रस्ताव गरिएको छ । गढवा–१ र शितगंगा नगरपालिकाका क्षेत्रलाई आधार बनाएर औद्योगिक क्षेत्र बनाउने प्रस्ताव छ । राप्ती गाउँपालिकाको सिसहनियामा प्रथम व्यापारिक केन्द्र र पाखापानीदेखि मौरीघाटसम्मको क्षेत्रलाई दोस्रो व्यापारिक केन्द्र बनाइने छ । त्यस्तै राप्ती धानपुर किनार नजिकै पूर्वतर्फ विमानस्थल बनाइने छ ।
८ माघ २०७८, शनिबार
प्रतिक्रिया