जीवनशैली

सरकारले स्थानीय चुनाव फेरिपनि सार्योभने कर उठाउन र खर्च गर्न नपाउने



काठमाडौं ११ माघ – सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजे गम्भीर संवैधानिक जटिलता देखिने भएको छ ।२०७४ साल वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल संविधानतः आगामी जेठ ५ गते पूरा हुँदैछ ।उनीहरूले ५ वर्षे कार्यकाल पूरा गरिसक्दा नयाँ जनप्रतिनिधि निर्वाचित नहुने हो भने आगामी साउनदेखि स्थानीय तह खर्चविहीन हुने देखिएको छ ।सत्तारुढ ५ दलीय गठबन्धनमा संविधानसँग बाझिएका ऐन संशोधन गरी वैशाखमा स्थानीय निर्वाचन नगर्ने सहमति भइसकेको छ । यस्तो अवस्थामा जेठमा जनप्रतिनिधिको कार्यकाल सकिने स्थानीय तहले आगामी साउन १ गतेदेखि खर्च गर्न पाउने छैनन् ।

स्थानीय तहले संविधानमै प्रबन्ध गरिएको स्थानीय सञ्चित कोषबाट नियमित खर्च गर्दै आएका छन् । जनप्रतिनिधिविहीन बन्ने स्थानीय तहले एकातिर बजेट ल्याउँन सक्दैनन् भने अर्कोतिर सञ्चित कोषको रकम खर्च हुने अवस्था पनि रहँदैन ।संविधानको धारा २ सय ३० मा हरेक स्थानीय तहले प्रत्येक वर्षको ‘राजस्व र व्ययको अनुमान स्थानीय कानूनबमोजिम गाउँ सभा वा नगर सभामा पेस गरी पारित गराउनुपर्ने’ प्रावधान रहेको छ । सामान्यतया असार मसान्तभित्र स्थानीय तहरुले ‘बजेट’ पारित गरी साउन १ देखि कार्यान्वयन गर्ने प्रचलन रही आएको छ । जनप्रतिनिधि नहुँदा स्थानीय तहको बजेट ल्याउन र खर्च नियमित खर्च बाधा पुग्ने देखिएको हो ।संविधानको धारा २ सय २९ मा स्थानीय सञ्चित कोषसम्बन्धी व्यवस्था रहेको छ । प्रत्येक गाउँपालिका र नगरपालिकामा रहने कोषमा सम्बन्धित पालिकालाई प्राप्त हुने सबै प्रकारको राजश्व, अनुदान, ऋण वा अन्य स्रोतबाट प्राप्त हुने रकम जम्मा हुने गर्छ । सो कोषको रकम खर्च गर्ने सम्बन्धमा सबै स्थानीय तहले आ(आफ्नै कानून बनाएका छन् ।कानून आयोगका पूर्वअध्यक्ष माधव पौडेल स्थानीय तह जनप्रतिनिधिविहीन भए साउन १ गतेदेखि कर उठाउन वा खर्च गर्न बाधा पुग्ने बताउँछन् ।

‘जेठ ५ गते जनप्रतिनिधिको कार्यकाल सकिने स्थानीय तह जनप्रतिनिधिविहीन भएमा असारदेखि नै संविधानले तोकेका प्रावधानहरू प्रभावित हुन्छन् । स्थानीय सरकारले कर लगाउन र खर्च गर्न पाउँदैनन् भने संविधानको अनुसूचीमा उल्लेखित संघ र स्थानीय तहका अधिकारहरु प्रयोग गर्न नमिल्ने अवस्था आइपर्छ ।‘जनप्रतिनिधिविहीन भएमा असारमा बजेट ल्याउन र साउनेदेखि खर्च गर्न नसक्ने अवस्थामा स्थानीय सरकार पुग्छ । त्यसैले स्थानीय निर्वाचन पछाडि धेकेल्न मिल्दैन । बरु एमालेलाई सहमत गराएर प्रतिनिधिसभा र स्थानीय निर्वाचन एकैसाथ गर्न सकिन्छ’,सत्तारुढ गठबन्धनकै समर्थनमा निर्वाचित राष्ट्रियसभा सदस्य डा। खिमलाल देवकोटाले भन्नु भयो ।

स्थानीय निर्वाचन सार्नुभन्दा तीनै तहको निर्वाचन जेठभित्र गर्नेगरी सहमति जुटाउन गठबन्धनले मेहेनत गर्नुपर्ने उहाँको सुझाव छ ।सत्तारुढ गठबन्धनले संविधानसँग बाझिएका ऐन संशोधन गरी २०७९ असोजउप्रान्त स्थानीय निर्वाचन गर्ने तयारी गरिरहेको छ ।यसबारे गठबन्धनले आफूनिकट कानून व्यवसायीसँग छलफल गरेपनि आगामी साउनदेखि स्थानीय सरकार राजस्व उठाउन र खर्च गर्न नसक्ने अवस्थामा पुग्नेबारे कुनै निष्कर्ष निस्किएको छैन ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६