कपिलवस्तु १३ माघ । घाम नलाग्ने र कुहिरोका कारण कपिलवस्तुमा मह उत्पादन घट्ने भएको छ । लगातार चिसो भए पछि घारमा सञ्चित भएको मह माहुरीले खाए पछि कृषकहरु मर्का मा परेका छन् । नियमित घाम नलाग्दा र शितलहरका कारण कुल उत्पादनको आधा भाग माहुरीको आहारामा खर्च हुने भएको छ । अहिले तोरी र तोरा फुल्ने सिजन रहेको छ । यो समयमा माहुरीलाई प्रयाप्तमात्रामा फूलको रस जम्मा गर्न सक्ने समय समेत हो ।
मङ्सिर देखी माघ सम्म बस्ती बस्तीमा तोरी फुल्ने हुँदा १५ देखि २० दिनमा मह काढ्ने गरिन्छ । तर पुसको दोस्रो साता देखी मौसम अनुकुल रहेको छैन । जसका कारण कपिलवस्तुमा मात्र १ टन मह महुरीले खाएर नष्ट भएको खनाल माहुरी पालन उद्योगका सञ्चालक राम प्रसाद खनालले बताउनु भयो । बाणगंगा नगरपालिकाका अर्का कृषक बाबुराम खनालका अनुसार सिजनमा २ सातामा मह काड्न सकिने भए पनि यो पटक काड्न नमिल्ने भएको छ । चिसो अझै बढ्दै गयो भने कृषकले आहारा खुवाउने पर्ने अवस्था आउन सक्ने बताइएको छ ।
घार भित्रको मह सकिएमा माहुरीले बच्चा खाएर नष्ट गर्ने समस्या समेत आउन सक्ने देखिन्छ ।तोरीको फुल खसे पछि स्रोतको कमि हुने भएकोले उत्पादन कम हुने बताइएको छ । कपिलवस्तुमा ३२ जना माहुरी पालक कृषकले व्यवसायीक रुपमा माहुरी पाल्दै आएका छन् । एक घार माहुरी बाट वार्षिक औषत ३० केजी मह उत्पादन हुने गरेको छ । जिल्लामा मात्र २ हजार बढी घर माहुरी पालिएका बताइएको छ ।
१३ माघ २०७८, बिहिबार








प्रतिक्रिया