अर्थ-वाणिज्य

बंकर टु ब्यारेक कार्यक्रम अन्तर्गत चालु आवमा ९३ ब्यारेक बनाउने सेनाको घोषणा




काठमाडौ १६ भदौ ।नेपाली सेनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसहित रक्षा र अर्थ मन्त्रालयका उच्च अधिकारीलाई शनिबार बंकर टु ब्यारेक कार्यक्रम तथा सेनाको दृष्टिकोण २०८७ बारे ब्रिफिङ गरेको छ । जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा, बलाधिकृत रथी बालकृष्ण कार्कीलगायतले चालू आर्थिक वर्ष सेनाले ९३ वटा ब्यारेक निर्माणमा भएका प्रगतिबारे जानकारी दिएका छन् ।

चालू आर्थिक वर्ष सेनाले ९३ वटा ब्यारेक घर निर्माण गर्दै छ । सेनालाई आवश्यक १७५ ब्यारेकमध्ये बजेटको सीमितताका कारण सेनाले ९३ ब्यारेक निर्माण गर्दै छ । सरकारले जंगी अड्डालाई यो वर्ष विनियोजन गरेको ६ अर्ब ६३ करोड ७ लाख रुपैयाँ पुँजीगत खर्चमध्ये बंकर टु ब्यारेक कार्यक्रमका लागि २ अर्ब ३३ करोड रुपैयाँ विनियोजन भएको छ । यही बजेटबाट सेनाले देशभरिका विभिन्न ठाउँमा ब्यारेक निर्माण गर्न लागेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पौडेलसहितको टोलीले जंगी अड्डाको प्रस्तुतीकरणपछि ओखलढुंगा, खोटाङ, रामेछापमा रहेका बंकर र निर्माणाधीन ब्यारेकको स्थलगत भ्रमण गरेको थियो । ओखलढुंगामा अरिदमन गण तथा खोटाङ ऐँसेलुखर्क, रामेछापको रामेछाप बजार तथा दोरम्बामा रहेको नयाँँ गोरख गणको ब्यारेक र सुरक्षा गुल्मको भ्रमण गरेको जानकारी पौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । ‘विसं २०५८ देखि २०६२ को बिचमा नेपाली सेनाको संख्या लगभग ४० हजारबाट बढेर लगभग ९० हजार पुग्यो ।

तीमध्ये धेरै सैनिक जवानहरु आर्थिक रूपले साधारण घरपरिवारका सदस्य हुन्,’ पौडेलले भनेका छन्, ‘उनीहरू बस्ने बंकरहरूमध्ये कतिपय अझै जीर्ण र अस्वस्थकर अवस्थामा छन् । ती बंकरहरूलाई बस्नयोग्य घरहरू भएको ब्यारेकमा परिवर्तन गर्न, साधारण जवानहरूलाई डिस्टान्स लर्निङलगायतका विभिन्न शिक्षा हासिल गर्ने मौका दिलाउन सरकार प्रतिबद्ध छ ।’ स्थलगत भ्रमणमा रक्षासचिव किरणराज शर्मा, बलाधिकृत रथी बालकृष्ण कार्कीलगायत सहभागी थिए । 

प्रकाशित : १६ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६