कपिलवस्तु १९ माघ — हाँस प्रजातिको बैकालगैरी चरा जगदीशपुर तालमा पहिलोपटक देखिएको छ । पक्षी अवलोकनका क्रममा चराविद्हरू रमेश चौधरी तथा पोल्यान्डका माकिज कोट्लारस्कीले गत साता हाँसको उक्त प्रजाति देखेका हुन् । यो फिरन्ते चरा तस्बिरसहित जगदीशपुरमा पहिलोपटक अभिलेखीकरण भएको छ ।
तालको पूर्व छेउबाट अढाई/तीन सय मिटर पश्चिमतिर बीचमा उक्त चरा देखिएको चौधरीले बताए । यहाँ देखिएको चरा वयस्क भाले हो । ‘नेपालमा ७ पटक मात्र देखिएको रेकर्ड रहेको चरा जगदीशपुरमा पहिलोपटक देख्न पाउँदा निकै खुसी भयौं,’ उनले भने, ‘माघ तेस्रो साता सुनसरीको बर्जु तालमा पनि एउटा बैकालगैरी अभिलेख गरेका थियौं ।’
मनमोहक र निकै कम देखिने उक्त चरा हेर्न चराविद् नै मरिहत्ते गर्छन् । तर, एक सातामै दुई ठाउँमै उक्त चरा देख्दा जीवनकै अविस्मरणीय क्षण बनेको चौधरीले बताए । ‘चरा अवलोकनको एउटा उपलब्धि बन्यो,’ उनले भने । यसको भालेको टाउकोमा कालो, पहेँलो, हरियो, सेतो रङको बुट्टाले मनमोहक देखिन्छ ।
कालो थोप्ला भएको गुलाफी रङको छाती, कालो तल्लो पंख ढकनी र भित्री पखेटाको कटुस रङको छेउले सुन्दर देखिन्छ । उक्त चरा ३८ वर्षअघि सन् १९८४ अक्टोबर १६ मा पहिलोपटक अन्नपूर्ण संरक्षण क्षेत्रको लारजुङनजिकै कालीगण्डकी नदीमा नेपालका लागि पहिलोपटक अभिलेख गरिएको थियो । २ हजार ५ सय ६० मिटर उचाइमा विदेशीले देखेका थिए । त्यसपछि सन् १९८७ र १९८९ मा कोसी ब्यारेजमा देखिएको थियो ।
२००५ मा काठमाडौं उपत्यकाको टौदहमा देखिएको थियो । सन् २०१२, २०२० र २०२१ मा सुनसरीको बर्जु तालमा देखिएको यो चरा नेपालको संकटापन्न चराहरूको रातो किताबमा उल्लेख छ । रुसको बैकाल तालमा यसले ओथारो बसेर बच्चा कोरल्ने चराविद्हरू बताउँछन् । त्यही भएर यसको नाम बैकाल राखिएको हो । उता निकै चिसो हुने याममा जाडो छल्न यो चराले पूर्वी एसियाको यात्रा गर्छ ।
‘नेपालमा हालसम्म एक पटकमा दुईवटाभन्दा बढी संख्यामा देखिएको रेकर्ड छैन,’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने । मध्यम आकारको फिरन्ते हाँसको यो प्रजाति निकै सुन्दर हुन्छ । तौल बढीमा ६ सय ग्रामसम्मको हुने यो पानीचराले लेउ, चिप्लेकिरा, बिभिन्न प्रकारका बीउ र पानीमा उम्रने झारका मुनालाई आहार बनाउँछ । वर्ष दिनपछि प्रजननका लागि योग्य हुने यो चराको पोथीले एक पटकमा ८ देखि १० वटा फूल पार्छे ।
प्रतिक्रिया