सागर विक
कपिलवस्तु १९ माघ ।नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलमानले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सरकारले यही जेठ ४ गते स्थानीय तहको निर्वाचन गराउने तयारी गरेको भन्दै उहाँले नेता कार्यकर्ताहरुलाई तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाले कांग्रेस एक्लै लड्दा समेत सर्वाधिक ठूलो पार्टी बन्ने वताउदै गठबन्धन बन्न गाह्रो रहेको औल्याउनु भयो ।नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिले आयोजना गरेको बधाई, शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले पार्टीको १४औं महाधिवेशनमा देखिएको आन्तरिक प्रतिस्पर्धालाई भूलेर अब पार्टीलाई एकतावद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । राजनितिमा ईमान्दारिता र नैतिकताको ठूलो महत्व रहेने बताउँदै उहाँले पार्टीभित्र सबैले अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो । कम्युनिष्टले एमसीसीको बारेमा गाउँघरमा जनता समक्ष भ्रम सिर्जना गरेको उहाँको आरोप छ । यस्तै कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले अबको चुनावमा कांग्रेसले देशभर गठबन्धन बनाएर जान नहुने बताउनुभएको छ ।
चुनावमा कही कतै कसैसंग तालमेल गर्न सकिने तर देशभर नै गठबन्धन बनाएर जान नहुने महामन्त्री आचार्यको भनाई छ । अबको स्थानीय निर्वाचनमा सबै एकजुट भएर कांग्रेसका उम्मेद्वारलाई जिताउन उहाँले आग्रह गर्नुभयो । बाणगंगा नगरपालिकालाई कम्युनिष्टले आफ्नो पकेट क्षेत्र मान्दै आएको तर विगतको चुनावमा आफुहरुले उनीहरुलाई हराउन सफल भएको उहाँले स्मरण गराउनुभयो । विपक्षीसंग चुनावी मैदानमा उत्रिन जाने समय आएको भन्दै महामन्त्री आचार्यले तयारी अवस्थामा रहन निर्देशन समेत दिनुभएको छ ।
यस्तै नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलाम खांले आन्तरिक मदभेदहरुलाई भूलेर एकजुट हुदैं अबको चुनाव जित्ने लक्ष्यमा केन्द्रित हुनुपर्ने आवश्यता औंल्याउनुभएको छ । अब आफुहरुको लक्ष्य सरकार बनाउने भएकाले लक्ष्यभन्दा दायाँबायाँ हुन नहुने उहाँको भनाई छ । उहाँले १४औं महाधिवेशनमा निर्वाचित नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्ने आवश्यता रहेको बताउनुभयो । आफुलाई जिल्ला सभापतिमा निर्वाचित गराउन सहयोग गर्नेहरुप्रति उहाँले आभार समेत व्यक्त गर्नुभयो ।








प्रतिक्रिया