प्युठान २२ माघ
प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटनामा ज्यान गुमाउने ८ मध्ये सात जनाको सनाखत भएको छ।दुर्घटनामा परी एकै परिवारका श्रीमान, श्रीमती र छोरीको मृत्यु भएको छ। गौमुखी गाउँपालिका वडा नं। ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए। त्यस्तै अन्य मृतकमा २९ वर्षीया केशरी खड्का, गाडी चालक ५० वर्षीय बलबहादुर बुढा मगर, ३२ वर्षीय खिम खत्री र ५० वर्षीया नन्दी खड्का छन्। एक जनाको भने सनाखत हुन बाँकी रहेको अध्यक्ष गिरीले जानकारी दिए।
अध्यक्ष गिरीका अनुसार दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी छन्। घाइतेमध्ये बेहुलीसहित तीन जनाको अवस्था गम्भीर छ। अध्यक्ष गिरीका अनुसार बेहुलीको एउटा हात नै चुँडिएको छ। गम्भीर घाइते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।
अध्यक्ष गिरीले रातीको समयमा दुर्घटना हुनु, उद्धारमा ढिलाई हुनु जस्ता कारणले धेरै घाइतेको मृत्यु भएको बताए। ‘रातभर पानी केही घाइतेको कठ्याङ्ग्रीएरसमेत घटनास्थलमै मृत्यु भएको हुनसक्छ,’ उनले भने, ‘थप दुई जनालाई पनि अस्पताल पुर्याउना साथ मृत घोषणा गरिएको थियो। अन्य चार घाइतेको अवस्था पनि गम्भीर छ।’जन्तीमा गएकाहरू दुर्घटनामा पर्नुले गाउँपालिकामा सन्नाटा छाएको उनले बताए। प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार घटनास्थल विकट भएको र रातीको समय भएकाले ६ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको उपचारका लागि अस्पताल पुर्याएलगत्तै मृत्यु भएको हो।
नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।जिप सडकदेखि १५० मिटर तल खोल्सामा खसेको छ । रातभर पानी परेको सासाना पहिरो र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अहिले भने वर्षा रोकिएको छ ।
प्रतिक्रिया