प्रदेश

हिमपात तथा हावाहुरीबाट प्रभावितलाई राहत दिन गृहमन्त्री खाँडको निर्देशन ।



काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाँडले तराईमा हावाहुरीका कारण ज्यान गुमाएका तीन जनाकाे परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एवम् राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ । 

गृहमन्त्री खाँडले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको हो । 

शुक्रवार दिउँसो धनुषाको सवैला नगरपालिका-१२ मा रुखको हाँगा भाँचिदा महेन्द्र सदाकी ८ वर्षीय छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको ज्यान गएकाे थियाे ।

गृहमन्त्री खाँडले आज बिहान सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी र जिल्ला प्रहरी प्रमुख वसन्त रजौरेलाई बच्चाको अन्त्येष्टि र अन्य आवश्यक राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका-१ मा कच्ची घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमती ४५ वर्षीया फुलमतियादेवीको ज्यान गएकाे थियाे । गृहमन्त्री खाँडले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी उपरीक्षक विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिनुभयो । 

गृहमन्त्री खाँडले महाशाखा प्रमुख कोइरालालाई आज दिन भए पनि हिमाली जिल्लाको हिमपात र तराईमा हावाहुरी र शितलहरबाट प्रभावितलाई राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिनुभएको छ । 

त्यस्तै मन्त्री खाँडले प्रमुख जिल्ला अधिकारीहरु दीर्घराज उपाध्याय (दार्चुला), विजयाकुमारी प्रसाईँ (जुम्ला), गणेश आचार्य (हुम्ला), शंकरहरि आचार्य (गोरखा), उमेश पाण्डे (ताप्लेजुङ), गणेशबहादुर शाही (सोलुखुम्बु), दिलकुमार तामाङ (ओखलढुंगा) र फणिन्द्र दाहाल (खोटाङ)लाई हिमपातको असरबारे जानकारी दिँदै प्रभावितको व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ । त्यस्तै डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि टेलिफोनमार्फत जिल्लाको अवस्थाबारे जानकारी लिनुभएको छ । – रासस

प्रकाशित : २२ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६