बुटवल, २४ माघ । रुपन्देहीको बुटवलमा अवस्थित लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरी बीच सोमबार झडप भएको छ । सडपमा परी करिब आधा दर्जन विद्यार्थीहरु घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी गराए ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनु पर्ने तथा स्थानीय तहको निर्वाच तत्काल घोषणाको माग गर्दै आयोजित विरोधमा प्रहरीले हस्तक्षप गरेको हो । विरोधस्वरुप मुख्यमन्त्री कार्यालयअघिबाट कालो बेलुन उडाउने कार्यक्रममा प्रहरीले एक्कासी हस्तक्षप गर्दै लाठिचार्ज गरेको पाण्डेले जानकारी गराए ।
झडपमा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ । विद्यार्थीहरुले सांकेतिक रुपमा बिरोध जनाउनका लागि बेलुन उडाउने समयमा मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा आफ्ना नेता कार्यकर्तामाथि आक्रम भएको भन्दै उपाध्यक्ष पाण्डेले विरोध घटनाको निन्दा गरेका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठकबहादुर केसीले भने झडप नभई सामान्य धकेलाधकेल भएको उल्लेख गरे । कार्यालय समयमा कामकाजलाई समेत प्रभाव पार्नेगरी प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गर्नु परेको उनले बताए । सामान्य धकेलाधकेल मात्र भएको बताउँदै उनले उक्त घटनामा कोही पनि घाइते नभएको दाबी गरे ।
प्रतिक्रिया