काठमाडौँ,२४-माघ/ काठमाण्डौको चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले उद्धार गरेको छ । हिउँ खेल्न गएर फर्किने क्रममा जङ्गलको बाटोमा हराएका उनीहरुको गएराति उद्धार गरिएको प्रहरी प्रभाग थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङको उद्दार गरिएको हो । उनीहरूले आफूहरूले बाटो भुलेको भनेर घरमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो । बाटो भुलेर भिरमा बसिरहेको बेला उनीहरुलाई उद्धार गरिएको सापकोटाले बताए । उद्धारपछि स्वास्थ्य परीक्षण गराएर परिवारको जिम्मा लगाइएको हो ।
प्रतिक्रिया