काठमाडौँ २५ माघ – आगामी वैशाख ३० गते देशैभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको प्रमुख विपक्षी नेकपा एमालेले स्वागत गरेको छ । अब स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउने जिम्मेवारी सरकारले पूरा गर्नुपर्ने एमालेले बताएको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबार गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगको सुझावका आधारमा सरकारले ३० वैशाखमा चुनाव गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
०७४ मा वैशाख, असार र असोज गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएकोले कुन मितिबाट जनप्रतिनिधिको कार्यकाल ५ वर्ष पुगेको मान्ने भन्नेमा विवाद थियो । निर्वाचन आयोगले भने जेठ ५ भित्रै निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने सुझाव सरकारलाई दिएबमोजिम चुनावको मिति घोषणा गरिएको हो ।एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफूहरुको दबाबपछि मात्रै चुनावको मिति घोषणा गरिएको भए पनि सरकारको यो कदम स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो । अब स्वतन्त्र र भयरहित वातावरणमा चुनाव हुनुपर्ने उहाँले बताउनुभयो ।
सत्ता गठबन्धनमा रहेका दलहरुले आगामी निर्वाचनमा गठबन्धन गरेरै एमालेसँग प्रतितस्पर्धा गर्ने तयारी गरेका छन् । उपाध्यक्ष नेम्वाङले गठबन्धनसँग चुनाव लड्न एमाले तयार रहेको बताउनुभयो । आफूहरुले निर्वाचनको परिणाम भन्दा पनि संविधानको पालनाको विषयलाई महत्व दिने उहाँले बताउनुभयो ।सरकारले मिति घोषणा गरेसँगै चुनावको माहोल पनि तातेको छ । निर्वाचन आयोग पनि चुनावको तयारीमा होमिएको छ । आयोगले आजै स्थानीय तहहरुसँग चुनावमा आवश्यक भौतिक सामग्रीको विवरण मागेको छ ।यस्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि भोलिदेखि बन्द गर्ने भएको छ । केही दिनमै अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी पनि आयोगले गरेको छ ।
प्रतिक्रिया