प्रदेश

तात्यो चुनावी माहोल, गठबन्धन बलियो कि एमाले ?



काठमाडौँ, २५ माघ । आगामी वैशाख ३० गते देशैभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको प्रमुख विपक्षी नेकपा एमालेले स्वागत गरेको छ । अब स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउने जिम्मेवारी सरकारले पूरा गर्नुपर्ने एमालेले बताएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबार गर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आयोगको सुझावका आधारमा सरकारले ३० वैशाखमा चुनाव गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

०७४ मा वैशाख, असार र असोज गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएकोले कुन मितिबाट जनप्रतिनिधिको कार्यकाल ५ वर्ष पुगेको मान्ने भन्नेमा विवाद थियो । निर्वाचन आयोगले भने जेठ ५ भित्रै निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने सुझाव सरकारलाई दिएबमोजिम चुनावको मिति घोषणा गरिएको हो ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफूहरुको दबाबपछि मात्रै चुनावको मिति घोषणा गरिएको भए पनि सरकारको यो कदम स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभयो । अब स्वतन्त्र र भयरहित वातावरणमा चुनाव हुनुपर्ने उहाँले बताउनुभयो ।

सत्ता गठबन्धनमा रहेका दलहरुले आगामी निर्वाचनमा गठबन्धन गरेरै एमालेसँग प्रतितस्पर्धा गर्ने तयारी गरेका छन् । उपाध्यक्ष नेम्वाङले गठबन्धनसँग चुनाव लड्न एमाले तयार रहेको बताउनुभयो । आफूहरुले निर्वाचनको परिणाम भन्दा पनि संविधानको पालनाको विषयलाई महत्व दिने उहाँले बताउनुभयो ।

सरकारले मिति घोषणा गरेसँगै चुनावको माहोल पनि तातेको छ । निर्वाचन आयोग पनि चुनावको तयारीमा होमिएको छ । आयोगले आजै स्थानीय तहहरुसँग चुनावमा आवश्यक भौतिक सामग्रीको विवरण मागेको छ ।

यस्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि भोलिदेखि बन्द गर्ने भएको छ । केही दिनमै अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी पनि आयोगले गरेको छ ।

प्रकाशित : २५ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६