प्रदेश

बाघ गणना गर्न राखिएका २३ वटा क्यामेरा चोरी तथा तोडफोड हुँदा गणना प्रभावित




बाँके, माघ २६ । बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक ठाउँमा झन्डै १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाका लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रवीन कडरियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ । एउटा क्यामेराको मूल्य ४० हजार रुपैयाँ पर्दछ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने उहाँले बताउनुभयो ।

निकुञ्ज क्षेत्रमा घाँस काट्न जाने तथा वन्यजन्तु चोरी सिकारीले क्यामेरा चोरी गर्ने गरेको उहाँको भनाइ छ । अहिलेसम्म पहिलो र दोस्रो नम्बर ब्लकको काम सकिएको छ भने तेस्रो र चौथो नम्बर ब्लकमा काम भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गएको मङ्सिर २९ गतेदेखि बर्दिया र बाँकेका लागि बाघ गणना कार्य सुरु गरेको थियो । बाघ सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्ट लाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्ने अनुमान गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताउनुभयो ।
(रासस)

प्रकाशित : २६ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६