काठमाडौँ २७ माघ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा नेपाललाई खसी देखाएर फर्सी भिराउन खोजेको आरोप लगाएका छन् ।
बुधबार माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका आठ राजनीतिक संगठनहरूले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले भने, ‘अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरू एमसीसीको विपक्षमा उत्रिँदैनथे ।’ यस्तै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिराएको नेता केसीको आरोप थियो ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको पनि उनको आरोप छ । अध्यक्ष केसीले विदेशी शक्तिहरूले पार्टीका प्रमुख व्यक्तिहरूलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको पनि बताएका थिए ।
प्रतिक्रिया