माघ २९, एजेन्सी
अमेरिकाले पोल्यान्डमा थप तीन हजार सैनिक पठाउने भएको छ । रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले थप सुरक्षा बल खटाउन लागेको हो।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्यान्डमा थप तीन हजार सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको समाचार संस्था एएनआईले जनाएको छ । उनीहरु अबका दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको सुरुमा खटाइएको ठाउँमा पुग्नेछन् ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी कदम सुरक्षा मामिलामा पहिलेभन्दा थप उग्र भएको टिप्पणी गर्नुभएको छ। साथै उहाँले पश्चिमा देशले गलत सूचना फैलाएको आरोप पनि लगाउनुभएको छ । अमेरिकाले यसअघि आफ्ना नागरिकलाई युक्रेन छाड्न अनुरोध गरिसकेको छ ।
बेलायत, क्यानडा, नेदरल्यान्ड्स, जापान र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका बीबीसीले उल्लेख गरेको छ। रुसले उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोमा युक्रेन सामेल हुन नपाउने विषय सुनिश्चित गर्न माग गर्दै आएको छ।
विश्वका दुई शाक्ति राष्ट्र रुस र अमेरिका बीच लामो समयदेखि शीतयुद्ध रहेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच छिट्टै फोन वार्ता हुनसक्ने पनि खबरमा उल्लेख छ।
तस्बिरः द न्युयोर्क टाइम्स
प्रतिक्रिया