काठमाण्डौ, ०५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले सत्ता गठबन्धन जोगाउँदै अमेरिकी सहयोग एमसीसी सम्झौतालाई निकास दिन प्रयास भइरहेको बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँगको भेटपछि अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । आज बेलुका ५ बजे सत्ता संयन्त्रको निर्णायक बैठक बस्न लागेको र त्यहाँ गम्भीर छलफल हुने उहाँको भनाइ छ ।
‘हामी पाँच दलको सत्ता गठबन्धनलाई कसरी जोगाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमा केन्द्रित छौँ । आज एउटा निचोड निस्किन्छ, हाम्रो जोड चाहिँ गठबन्धन बचाउनेमै छ’, प्रचण्डले भन्नुभयो ।
सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति नहुँदा एमसीसी सम्झौता अन्योलमा परेको छ । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेको छ ।
हिजो बसेको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने भनिए पनि सर्वसहमति विना एमसीसी टेबल भए गठबन्धनबाट बाहिरिने प्रचण्डको अडानपछि गठबन्धनको बैठकमा छलफल गर्न लागिएको हो । एमसीसीबारे साझा धारणा बनाउन र सहमति जुटाउन आज गठबन्धनको बैठक बस्न लागेको हो ।
प्रतिक्रिया