काठमाण्डौ, ०९ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरूलाई एक हप्ताभित्रमा कारबाहीको दायराभित्र (ठेगान लगाउने) ल्याउन लागेको बताउनुभएको छ ।
आज सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक हप्ताभित्रमा देशलाई ठग्नेहरूका विरुद्धमा कडा कदम चाल्न लागेको बताउनुभएको हो ।
उहाँले आजसम्म देशलाई ठग्नेहरूका विरुद्धमा आफूले गरेका काम ुट्रेलरु मात्रै भएको उल्लेख गर्दै एक हप्ताभित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जति पनि मैले कामको थालनी गरेको छु । मातृभूमिलाई साक्षी राखेर भन्छु, विभिन्न तत्त्वहरूले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु । यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो, अब एक हप्ताभित्र पूरा फिल्म पर्दामा देखिने गरी काम गर्नेछु ।’
मन्त्री आलेले विगतका सरकारले गरेका फोहरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताउनुभयो । उहाँले केही दिनअघि सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दा तलमाथि पर्न गएको स्वीकार गर्नुभयो । बोल्दा तलमाथि भएको भए पनि आफ्नो मनमा कुनै पाप नभएको उहाँले प्रष्ट पार्नुभयो । आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भए पनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उहाँले बताउनुभयो । त्यो अडियो पूर्ण सत्य नभएको उहाँले प्रष्टीकरण दिनुभयो ।
प्रतिक्रिया