ललितपुर, १६ फागुन । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल एपीएफ क्लबले ललितपुर मेयर महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज सोमवार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
अघिल्लो संस्करणको खेलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले नै पराजित गर्दै उपाधि जितेको थियो । सुदूरपश्चिमले दिएको एक सय १४ रनको लक्ष्य पच्छाएको एपीएफले १५ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो । एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन् । उनले ४४ बल खेल्दा पाँच चौका प्रहार गरिन् । त्यसैगरी इन्दु बर्माले नदआउट २९ रन जोडिन् भने कप्तान सीता राना मगर १९ रनमा आउट भइन् । सुदूरपश्चिमका लागि लक्ष्मी साउद र सम्झना खड्काले एक–एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १३ रन बनायो । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३७ रनको योगदान गरिन् भने डोली भट्टले ३६ रन जोडिन् । त्यस्तै कविता कुँवर २४ रनमा नटआउट रहिन् भने रेवती धामीले १० रन बनाइन् । एपीएफका लागि सुस्मा श्रेष्ठले दुई विकेट हात पारिन् ।
उपाधिसहित एपीएफले दुई लाख र उपविजेता सुदूरपश्चिमले एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतिक्रिया