सुर्खेत, १७ फागुन । कर्फ्यु जारी भएको सुर्खेतको वीरेन्द्रनगर बजार सुनसान भएको छ । एमसीसी सम्झौताको विरोधमा सुरु भएको आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले हिजो सोमवार बेलुकादेखि कर्फ्यु लगाएको हो । प्रदर्शनकारीहरूले हिजो पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजानी गर्नुका साथै झडपको स्थिति भएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।
प्रदर्शनकारीहरूले वीरेन्द्रगरको वीरेन्द्र चोक, मंगलगढी चोक र यरी चोकका प्रहरी बिटमा तोडफोड गर्नुको साथै सडकभरि बोतल र ढुङ्गा फालेका छन् । आन्दोलन उग्र बनेपछि प्रशासनले कर्फ्यु तोड्ने व्यक्तिलाई गोलीसमेत चलाउन सक्ने आदेश सुरक्षाकर्मीलाई दिएको छ ।
आज मङ्गलवार बिहानैदेखि वीरेन्द्रनगरको सडकहरू सुनसान रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बजारमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्फ्यु आदेशका कारण शिवरात्रि पर्वसम्बन्धी कार्यक्रमहरू स्थगित हुनुका साथै शिव मन्दिरहरू पनि सुनसान छन् ।
आज बिहान पनि केही बन्दकर्ताहरूले ढुङ्गा हान्ने प्रयास गरेकोमा केही व्यक्तिलाई पक्राउ गरेपछि अरू पछि हटेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । हिजो बेलुकी सवा ८ बजेदेखि सुरु भएको कर्फ्यु आदेश आज बेलुकी ७ बजेसम्मका लागि तोकिएको छ ।
तस्बिरः सामाजिक सञ्जाल
प्रतिक्रिया